Breaking News

चितवनको क्यान्सर अस्पतालमा पनि चिकित्सा शिक्षा पढाइ हुने, चिकित्सा शिक्षा आयोगले दियो अनुमति

Banner

चितवन,पुस १७-

चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले चिकित्सा शिक्षाको पढाइ गर्न पाउने भएको छ । चिकित्सा शिक्षा आयोगले यसै वर्षबाट विशिष्टीकृत कार्यक्रम सञ्चालन गर्न क्यान्सर अस्पताललाई अनुमति दिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा.देज गौतमले चिकित्सा शिक्षा अध्ययन अध्यापनको अनुमति पाएसंगै आफुहरु थप उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अनुमती पाएको सुपरस्पेशलिष्ट अध्यापनका लागि हो । यो एमबीबीएस र एमडी भन्दापनि उच्च तहको अध्यापन हो ।’

चिकित्सा शिक्षाको कार्यक्रम संचालन पश्चात अस्पतालमा दक्ष जनशक्ति उत्पादन गर्न र क्यान्सरका विषयविज्ञहरु उत्पादन गर्न सहज हुनेछ । उहाँले अस्पतालमा विरामीले पाउने सेवा र गुणस्तरमा समेत बृद्धि हुने बताउनुभयो । ‘हामीले अस्पताल सुधारका लागि गरिरहेको प्रयास मध्यको ठूलो काम यो पनि हो,उहाँले भन्नुभयो’,अस्पतालमा पछिल्लो समय थुप्रै सुधारका कामहरु भइरहेका छन् ।’

आयोगले क्यान्सर अस्पतालसंगै काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट न्यूरोलोजिकल एन्ड एलाइड साइन्सेस, भैंसीपाटीको नेपाल मेडिसिटी अस्पताल, धुम्बाराहीको हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स)ले पनि विशिष्टीकृत कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ । चारै अस्पताललाई विभिन्न विषयमा अध्यापन गराउन सात सीट निर्धारण गरिएको छ । जसमा उपेन्द्र देवकोटा मेमोरियल, बीपी कोइराला मेमोरियल र मेडिसिटीले दुई–दुई सीट र ह्याम्सले एक सीट पाएका छन् ।

विशिष्टीकृत कार्यक्रम अन्तर्गत न्यूरो सर्जरीका लागि दुई, सर्जिकल अंकोलोजी थोरासिक, सर्जिकल अंकोलोजी जेनिटो युरिनरी, जीआई सर्जरी र क्रिटिकल केयरका लागि एक–एक सीट निर्धारण गरिएको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले जानकारी दिनुभयो ।

अस्पतालमा विशिष्टीकृत कार्यक्रम सञ्चालन गर्दा एमबीबीएस तथा एमडी/एमएस गरेका विद्यार्थीले पनि अध्ययन गर्न पाउने र धेरै खर्च नगरी विशेषज्ञ चिकित्सक जसरी दक्षता हासिल गर्न सकिने उहाँको भनाइ छ । “यो कार्यक्रम सञ्चालन गरेपछि अस्पतालहरूमा दक्ष चिकित्सकको अभाव पनि पूर्ति हुन्छ,” उहाँले भन्नुभयो ।

आयोगका अनुसार, ‘सब स्पेसियालिटिज पोस्ट ग्राजुयट’ कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य संस्थाले पहिलेदेखि नै एमबीबीएस तथा पोस्ट ग्राजुयट (एमडी/एमएस)को कार्यक्रम सञ्चालन गरिराखेको हुनुपर्ने तथा नेपाल मेडिकल काउन्सिलले तोके अनुसार विशिष्टीकृत कार्यक्रमका लागि आवश्यक पूर्वाधार हुनुपर्छ । सार्वजनिक शिक्षण संस्थान तथा ‘स्पेसियालिटी सेन्टर’ मा भने एमबीबीएस तथा एमडी/एमएसका कार्यक्रम सञ्चालन नभए पनि पुग्छ ।

यससँगै अस्पतालमा टेक्निकल, मेडिकल तथा हेल्थ साइन्सको विशिष्टीकृत कार्यक्रमको ‘फ्याकल्टी’ हुनुपर्छ । त्यस्तै, बिरामीको राम्रो उपचार गर्ने, आवासीय चिकित्सकको तालीम तथा बिरामीको सुरक्षा सम्बन्धी विभिन्न प्रावधान पूरा गरेको हुनुपर्छ । यो कार्यक्रम सञ्चालन गर्न अस्पतालसँग कम्तीमा तीन जना फ्याकल्टी सदस्य हुनुपर्छ । त्यस्तै, एक जना प्रोफेसर, एक एसोसिएट प्रोफेसर र एक जना असिस्टेन्ट प्रोफेसर वा लेक्चरर अनिवार्य गरिएको छ । विशेषज्ञ चिकित्सक कम रहेकाले यो अध्ययनले मद्दत गर्ने चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>