Breaking News

एमाले चितवन नेतृत्वको लागि नेताहरुको दौडधुप बढ्यो, अध्यक्षमा चार आकांक्षी

Banner

मधुसूदन दवाडी

चितवन, पुस १४-

एमाले चितवनको १० औं जिल्ला अधिवेशन नजिकिएसँगै पार्टी नेतृत्व हत्याउन नेताहरुको दौडधुप सुरु भएको छ ।

एमाले जिल्ला कमिटीले पुस २३ र २४ गते अधिवेशनको मिति तोकेको छ । नेताहरु एकपक्षीय र बहुपक्षीय छलफलमा जुटेका छन् । अधिवेशनको लागि तयारी चलिरहेको छ । माओवादीसँग पार्टी एकता भंग भएपछि हुन लागेको पहिलो अधिवेशन भएकोले पनि यो अधिवेशनलाई अर्थपूर्णरुपमा हेरेका छन् । १० औं महाधिवेशनमा चितवन जिल्ला अध्यक्ष बन्नका लागि एमाले नेताहरु तेजेन्द्र खड्का, कृष्ण भुर्तेल, रामप्रसाद न्यौपाने र कमल पाठकले आकांक्षा देखाएका छन् । खड्का र भुर्तेल दुई अग्रज नेताहरु हुन् भने न्यौपाने र पाठक दुवै युवा नेताहरु हुन् ।

को–को हुन् चार आकांक्षी ?

तेजेन्द्र खड्का २०७३ साल भदौंमा भएको जिल्ला कमिटीको नवौं महाधिवेशनमा एमालेको उपाध्यक्षमा निर्वाचित व्यक्तित्व हुन् । उनी २०४२ सालदेखि चितवनमा पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएका छन् । विशेष त भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै जनसंख्या भएको वडा नम्बर ११ र १२ मा पार्टी संगठन बलियो बनाउनमा उनको महत्वपूर्ण योगदान रहेको छ । २०४७ सालमा भरतपुर नगर कमिटी सचिव बनेका खड्का क्षेत्रीय इन्चार्ज जिल्ला सचिव, जिल्ला उपाध्यक्ष बनिसकेका व्यक्तित्व हुन् । चितवनमा सहकारी अभियानलाई सफल बनाउन पनि खड्काको महत्वपूर्ण भूमिका छ ।
नेता खड्काले नारायणी अनलाइनलाई भने, ‘ मेरो एमाले जिल्ला अध्यक्षमा दाबेदारी स्वभाविक नै हो । यसअघि निर्वाचित उपाध्यक्ष भइसकेको व्यक्तित्व भएकोले पनि म अध्यक्षको पाइपलाइनमा नै छु । सर्वसम्मतरुपमा निर्णयमा यसपटक पार्टीको जिल्ला अध्यक्ष बन्छु भन्ने मेरो आशा छ ।’ पार्टीभित्र विभिन्न मनोविज्ञानहरु भएकोले सबैलाई समेटेर सिंगो पार्टीलाई बलियो बनाउन आफ्नो नेतृत्व स्वभाविक भएको खड्काको दाबी छ । उनले भने, ‘मैले एमालेलाई जनताकाबीचमा स्थापित गर्दै श्रमजीवी र मध्यवर्गीय वर्गको पार्टीको रुपमा जिल्ला पार्टी पंक्तिलाई उभ्याउन चाहन्छु ।’

त्यस्तै अर्का आकांक्षी कृष्णप्रसाद भुर्तेल चितवनको मेघौली क्षेत्रबाट राजनीतिमा उदाएका व्यक्तित्व हुन् । वाग्मती प्रदेशका जननिर्वाचित सांसद भुर्तेल २०३५ सालदेखि चितवनको कम्युनिस्ट राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी २०३७ सालको जनमत संग्रहताकाबाट त पार्टीमा संगठित सदस्य नै भएर लागे । २०४२ सालको विद्यार्थी राजनीतिमा सक्रिय भएका भुर्तेल २०५४ सालमा साबिक मेघौली गाविसका अध्यक्ष भएपछि उनको चर्चा एकाएक चुलियो । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष, एमालेको क्षेत्रीय कमिटी सदस्य हुँदै २०५४ सालमा एमालेको जिल्ला कमिटी सदस्य बने । त्यसैगरी २०६१ सालमा सचिवालय सदस्य र २०७७ सालमा प्रदेश कमिटी सदस्य बनेका भुर्तेल एमाले राजनीतिमा निकै शालिन नेताको रुपमा आफ्नो छबि बनाएका छन् ।

प्रदेश सांसद भुर्तेलले नारायणी अनलाइनलाई भने, ‘ जिल्लाको अग्रज नेताको हिसाबले पनि एमाले जिल्ला अध्यक्षमा मेरो दाबेदारी स्वभाविक नै हो । अब पार्टीलाई मेरो नेतृत्व आवश्यक पनि छ ।’ एमालेलाई वैचारिक नेतृत्व दिएर समृद्ध र विकसित चितवन बनाउन पनि आफ्नो नेतृत्व आवश्यक भएको भुर्तेलले दाबी गरे ।

एमाले अध्यक्षका अर्का आकांक्षी एमालेका युवा नेता रामप्रसाद न्यौपाने पनि हुन् । माडीको कल्याणपुर क्षेत्रबाट आफ्नो राजनीतिक पृष्ठभूमि बनाउँदै अगाडि बढेका न्यौपाने २०४५ सालदेखि अनेरास्ववियुको राजनीतिमा सक्रिय भए । विसं २०५३ मा अनेरास्ववियुको जिल्ला सचिव बन्दै २०५५ र २०५७ मा अनेरास्ववियु चितवनको अध्यक्ष बने । २०५१ सालदेखि उनी एमाले पार्टीमा पूर्णकालिन कार्यकर्ताको रुपमा काम सुरु गरे । एमाले र माओवादीबीचको एकतापछि उनी भरतपुर महानगरको नेकपा अध्यक्ष पनि बने । त्यसपछि झन् चितवनको राजनीतिमा उनको चर्चा र लोकप्रियता बढ्यो । पछि एमाले र माओवादी अलग भएपछि पनि महानगरको एमाले नेतृत्व न्यौपानेले नै सम्हाले । एमाले चितवनका अग्रज नेताहरुलाई उचित सम्मान र जिम्मेवारी दिँदै नयाँ पुस्तालाई राजनीतिमा अगाडि बढाउन पनि आफ्नो नेतृत्व रहेको न्यौपानेको दाबी छ । उनले नारायणी अनलाइनलाई भने, ‘ २६ वर्ष पार्टीको पूर्णकालिन कार्यकर्ता भएर काम गरिसकेको छु । पार्टीमा नयाँ र पुराना नेताको बीचमा सन्तुलन मिलाउन पनि म पार्टीको जिल्ला अध्यक्षमा मेरो दाबेदारी छ । पार्टी अध्यक्ष केपी ओलीले अगाडि सार्नुभएको समृद्धि र बहुदलीय जनवादको मार्गचित्रलाई सही ढंगले पूरा गर्नको लागि पनि मेरो नेतृत्व जरुरी छ । म पार्टीलाई राजनीतिक र वैचारिक हिसाबले अगाडि बढाउन चाहन्छु । पुराना नेताहरुको भावनालाई सम्मान गर्दै सबैले सर्वसम्मतरुपमा मलाई अध्यक्ष दिनुहुन्छ भन्ने मेरो आशा छ ।’

त्यसैगरी एमाले चितवनको जिल्ला नेतृत्वका अर्का आकांक्षी पूर्वी चितवनको खैरहनी नगरपालिकाबाट राजनीतिमा उदाएका नेता कमल पाठक पनि छन् । २०४३ सालबाट अनेरास्ववियु राजनीति सुरु गरेका पाठक नेपाल ल क्याम्पसबाट विद्यार्थी राजनीति गर्दै २०५३ सालदेखि २०६३ सालसम्म पूर्व चितवनको चैनपुर गाविसको नेतृत्व समाले । उनी २०५४ सालमा युवा संघ जिल्ला कमिटी उपाध्यक्ष र २०६१ सालमा युवा संघ चितवन अध्यक्ष बने । २०६३ सालमा युवा संघको केन्द्रीय सदस्य बनेका पाठकको दोस्रो जनआन्दोलनमा युवा पंक्तिलाई चितवनका सडकमा उतार्न महत्वपूर्ण भूमिका रह्यो । तत्कालिन ज्ञानेन्द्र सरकारले पक्राउको लागि पहिलो नम्बरमा पाठकलाई राख्यो र उनको घरमा ९ दिनसम्म सशस्त्र प्रहरीको घेराबन्दी थियो । उनी विद्यार्थी, युवा राजनीतिक पृष्ठभूमिबाट अगाडि बढ्दै २०६३ सालदेखि निरन्तर एमाले जिल्ला कमिटीमा सक्रिय छन् । पेसाले कानुन व्यवसायी रहेका पाठक २०७४ सालमा बार एशोसिएसन चितवनका अध्यक्ष बने ।

अध्यक्षका अकांक्षी पाठकले नारायणी अनलाइनलाई भने, ‘चितवनमा अग्रज नेताहरुले नेतृत्व गरिसकेकाले अब सर्वसम्मतरुपमा पार्टीको जिम्मेवारी मलाई दिनेमा ढुक्क छु । एमालेलाई अझ बढी शक्तिशाली र सशक्त बनाउन मेरो मुख्य भूमिका हुनेछ । वैचारिकरुपमा कांग्रेस र माओवादीसँग भिड्ने क्षमता मसँग छ । म जिल्ला अध्यक्षको रुपमा होलटाइमर भएर निरन्तर खट्ने छु । एमालेप्रति आमनागरिकको चासो बढाउँदै आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन मेरो भूमिका रहनेछ ।’

एमाले चितवनको भावी अध्यक्ष को बन्ला भनेर भरतपुरका चियापसल र टोलटोलमा चर्चा,परिचर्चा सुरु भएको छ । जिल्ला अधिवेशनका प्रतिनिधिहरु पुस १७ गते सबै तहबाट छानिएर आउँदै छन् । यसअघि एमाले चितवनमा विष्णु घिमिरे, केदार न्यौपाने, युवराज कार्की, नरबहादुर खाँड, डम्बर श्रेष्ठ, हरि सापकोटा, देवी ज्ञवाली, विजय सुवेदी, कृष्ण खनाल,जेएन थपलिया, कृष्णभक्त पोखरेलले नेतृत्व गरिसकेका छन् । नेकपाबाट एमाले अलग भएपछि पार्टी नेतृत्वले चितवनको अध्यक्षमा पार्वती रावललाई जिम्मेवारी दिएको हो । अबको जिल्ला नेतृत्वमा को आउँने हो ? सर्वसम्मत नेतृत्व चयन हुन्छ वा निर्वाचनमा जान्छ त्यो हेर्नको लागि अझै केही दिन पर्खनुपर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>