Breaking News
माओवादीको महाधिवेशन एमालेकै छायाँ महाधिवेशन होः उपमहासचिव गुरुङ

लुम्विनी, पुस १३-
नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा (माओवादी केन्द्र)को महाधिवेशनलाई एमालेकै छायाँ महाधिवेशनको संज्ञा दिएका छन् ।
आज प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई लुम्बिनीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘माओवादीले माओवाद पनि भन्न सक्दैन, न प्रचण्डपथ भन्न सक्छ । एमालेले जे–जे गरेको छ, त्यस्तै गरेको छ । माओवादीको महाधिवेशन एमालेकै छायाँ महाधिवेशन हो । एमालेले जे–जे गर्न खोज्यो त्यही लागू गरिरहेको छ,’ उनले भने । माओवादीको महाधिवेशन ‘डुप्लिकेट’ महाधिवेशन भएको समेत उनले बताए ।
उपमहासचिव गुरुङले माधवकुमार नेपाल नेतृत्वको पार्टीको कुनै भविष्य नभएको दाबी गरे । मुलुकलाई नेतृत्व दिने पार्टी एमाले मात्रै भएको उनको भनाइ थियो। ‘केपी ओली जस्तो दृढ संकल्प बोकेको नेताले नेतृत्व गरेको पार्टी हो एमाले । हिजो माधव नेपालले नेतृत्व गर्दा एमाले कमजोर बनेको थियो, अहिले एमाले बलियो बनेको छ । अहिले जुन खालको नीति एमालेले लिएको छ, यसले एमाले मुलुकको थप बलियो पार्टी बन्ने छ,’ गुरुङले भने ।
माधव नेपालहरु बाहिरिँदा एमालेलाई कुनै घाटा नभएकोसमेत उनले दाबी गरे । अहिले झन् बलियो र सशक्त बनेको उनले बताए । ‘एमालेको महाधिवेशनमा देखिएको जनलहर र अहिले एमालेमा प्रवेश गर्नेको जनलहरले त्यो देखाएको छ,’ उनको भनाइ थियो।

























