चितवन विशेष
मानवसेवा आश्रमको महायज्ञः ४ करोड ५ लाख बढी संकलन

चितवन, पुस १२–
मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ आयोजित श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञबाट चार करोड रुपैयाँ भन्दा बढी सहयोग संकलन भएको छ ।
मानव सेवा आश्रमले आज (सोमबार) पत्रकार सम्मेलन गरि महायज्ञको खर्च विवरण सार्वजनिक गर्दै ४ करोड ५ लाख ५९ हजार २१४ रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिएको हो । महायज्ञमा एक करोड ८५ लाख ७४ हजार ९६८ रुपैयाँ नगद सहयोग प्राप्त भएको छ भने २ करोड १९ लाख ८४ हजार २४६ रुपैयाँ सहयोग प्रतिवद्धता रहेको महायज्ञ मूल आयोजक समितिका संयोजक समाजसेवी प्रेमकुमार श्रेष्ठले जानकारी दिए । ४६ प्रतिशत रकम संकलन भइसकेको र बाँकी रहेको ५४ प्रतिशत सहयोग प्रतिवद्धता छिट्ट्र्रै संकलन हुने श्रेष्ठले बताए । ‘धेरैजसो प्रतिवद्धता रकमको हामी आफै जिम्मा लिएका छौं, रकम नै उठ्न सकेन भन्ने हुँदैन’–श्रेष्ठले भने । उनका अनुसार चैत्रभित्रमा सबै सहयोग रकम संकलन भइसक्छ ।
महायज्ञका कार्यकारी सहसंयोजक ओमकार कंडेलले कसैलाई पनि महायज्ञमा सहयोगका लागि दवाब नदिएको भन्दै सहयोग प्रतिवद्धता रकम सबै उठ्ने दावी गरे । अन्य महायज्ञहरुमा दवाब दिएर रकम बोल्न लगाउने र महायज्ञ पछि उक्त रकम नउठ्ने परिपाटि भएकै कारण यस महायज्ञमा स्वेच्छिक सहयोगलाई प्राथमिकता दिइएको बताए ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले महायज्ञबाट संकलित रकमबाट आश्रमको भवन निर्माणमा प्रयोग गरिने बताए । आश्रमको अहिले भरतपुर–३ बेलचोकमा आफ्नै भवन निर्माण भईरहेको छ । नयाँ भवन निर्माण भएसंगै ११५ जना सहयोगापेक्षीलाई राम्रो व्यवस्थापनका साथ राख्न सकिने बताए । अहिले आश्रम भरतपुर–१० स्थित बाइपास सडक खण्डमा भाडामा संचालनमा छ । त्यहाँ ७० जना सहयोगापेक्षीलाई सेवा दिईएको छ ।

भरतपुर निवासी समाजसेवी स्व.भगवानदास श्रेष्ठको स्मृति एवं सम्मानमा उनकी श्रीमती कल्याणी श्रेष्ठ र परिवारले ६ कठ्ठा, उनका ठूलो दाजु समाजसेवी प्रेमकुमार श्रेष्ठले २ कठ्ठा गरि ८ कठ्ठा जग्गा सहयोग गरेपछि आश्रमको आफ्नै भवन निर्माण थालिएको हो ।
सो जग्गामा भवन निर्माणका लागि हालसम्मसाढे २ करोड रुपैयाँ खर्च भइसकेको आश्रमका अध्यक्ष अधिकारीले बताए । ५० लाख रुपैयाँ बागमती प्रदेश सरकारले दिएको छ भने एक करोड ५० लाख रुपैयाँ सहकारीबाट ऋण लिए भवन निर्माणमा प्रयोग गरिएको छ । केही रकम आश्रमको केन्द्रीय कार्यालय आफैले खर्च गरेको छ । महायज्ञबाट उठेको रकम मध्ये एक करोड ऋण चुक्तामा खर्च गरिने छ भने बाँकी रकम भवन निर्माणमा प्रयोग गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।
मानवसेवा आश्रमकी केन्द्रीय महासचिव शुशिला केसीले महायज्ञबाट आवश्यक सहयोग प्राप्त भएको भन्दै आफ्नै भवन निर्माण पश्चात सहज रुपमा सडक सहयोगापेक्षीहरुलाई राख्न सकिने बताइन् । उनले चितवनलाई सडक सयोगापेक्षीमुक्त जिल्ला बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताइन् ।
आश्रमको भवन निर्माणका लागि गत मंसिर २६ देखि पुस ४ गतेसम्म भवन निर्माणस्थलमा महायज्ञ आयोजना गरिएको थियो । महायज्ञमा निःशुल्क रुपमा भागवत् भाष्कर कमलनयन गौतमले प्रवचन दिएका थिए ।
























