Breaking News
सुरक्षाकर्मीहरुमा आत्महत्याको क्रम बढ्यो, विस्तृत अध्ययन गर्दैछौं: नेपाल प्रहरी

काठमाडौँ, पुस १२
नेपाल प्रहरीले सुरक्षाकर्मीहरुमा बढ्दो आत्महत्याको क्रमलाई रोक्न बिस्तृत अध्ययन गरिने बताएको छ ।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सुरक्षाकर्मीहरुले नै आत्महत्या गरिरहेको कारणलाई सम्बोधन गर्नेगरी बिस्तृत अध्ययन गरिने बताएका हुन् । उनले विगत पाँच वर्ष यताको जानकारीमा १३÷१४ जना विभिन्न तहका सुरक्षाकर्मीहरुले आत्महत्या गरिसकेको र अधिकांश सुरक्षाकर्मीहरुको आत्महत्याको कारण डिप्रेसनका रहेको बताए । प्रवक्ता कुँवरले यस विषयलाई समाधान र सम्बोधन गर्न नेपाल पुलिसले मात्रै नसक्ने भएकोले केन्द्रीय सरकारदेखि प्रदेश र स्थानीय सरकारहरुको सहकार्यमा कारण खोजेर समस्या समाधान गर्ने बताए । उनले बीचमा नै जागिर छोडेर हिँड्ने सुरक्षाकर्मीहरुको हकमा भने अवसरको खोजी मात्र भएको र यो स्वभाविक प्रक्रिया भएको बताए ।
प्रवक्ता कुँवरले भने, ‘अवसरको खोजीमा बीचमै जागिर छोड्ने काम भइरहेको छ । बाहिर सुरक्षा गार्ड लगायत अन्य कुरामा भिसा आउने बित्तिकै यताबाट छोड्ने अवस्था छ । अवसरको खोजी स्वभाविक प्रक्रिया हो । विगतको अवस्था भन्दा अहिलेको अवस्थामा मनोबल परिवर्तन भएको छ । आत्महत्याको कुरा जब यी कुरा आए । यी कुराहरु हुन्छन्, किनकी प्रहरी पनि यही समाजको व्यक्ति हो । सबै कुराहरुले उसलाई पनि असर गरेको हुन्छ । सुसाइडको डेटा यो ५ महिनामा घट्यो त भन्यौँ । तर असिमित रुपमा घटेको अवस्था छैन । सुसाइडका विभिन्न कारणहरु हुन्छन्, पारिवारिकदेखि लिएर मानसिकसम्म । कारण हामी ल्याउँछौँ र त्यो कारण समाधान र सम्बोधन गर्नेतर्फ लाग्छौँ । कारण सम्बोधन गर्नेतर्फ नेपाल प्रहरी पनि सबै निकायसँग सहकार्य गर्न तयार छ । यसलाई प्रहरीले अभियान चालेर मात्रै हुँदैन । केन्द्रदेखि स्थानीयतहसम्म सबैसँग समन्वय गरेर अघि बढ्नेछौँ ।’
प्रवक्ता कुँवरले यो आर्थिक वर्षको शुरुवाती पाँच महिनामा एक हजार ३२६ वटा सीसी क्यामेरा देशभर जडान भएको बताए । उनले महानगरीय प्रहरीले यो आर्थिक वर्षमा सीसीटीभीको कुरा, उपत्यकालाई सेभ भ्याली बनाउने सन्दर्भमा १४५ वटा सीसीटीभी, जडान गर्न चार करोड ४० लाख रुपैयाँ विनयोजन भइ मूल्यांकनको प्रक्रियामा गएको जानकारी दिए । प्रवक्ता कुँवरले उपत्यकाका विभिन्न स्थानमा रहेको विभिन्न ३३ वटा ट्राफिक लाइट मर्मत गरिने र अन्य ३७ स्थानहरुमा ट्राफिक लाइट जडान गर्ने बताए ।
प्रवक्ता कुँवरले भने, ‘यो आर्थिक वर्षको पहिलो पाँच महिनामा एक हजार ३२६ वटा सीसी क्यामेरा देशभर जडान भएको छ । अपराध नियन्त्रण गर्ने सम्बन्धमा साधनस्रोतले धानेसम्म, बजेटले धानेसम्म, प्रविधिमैत्री वातावरण बनाउने सम्बन्धमा प्रहरी र ट्राफिक लागिरहेको अवस्था छ । त्यसैगरी महानगरीय प्रहरीले यो आर्थिक वर्षमा सीसीटीभीको कुरा, उपत्यकालाई सेभ भ्याली बनाउने सन्दर्भमा १४५ वटा सीसीटीभी, जडान गर्न चार करोड ४० लाख रुपैयाँ विनयोजन भइ इपिडिङ मार्फत् मूल्यांकनको प्रक्रियामा गइरहेको छ । त्यस्तै ट्राफिक लाइट त्यसलाई जापान सरकारको सहयोगमा स्थापना भएको ३३ वटा स्थानहरुको ट्राफिक लाइटलाई मर्मत गर्ने र पैदल यात्रु लाइट ८ स्थानमा छ त्यसलाई पनि मर्मत गर्ने, अन्य ३७ स्थानहरुम ट्राफिक लाइट जडान गर्नेछौँ ।’
प्रवक्ता कुँवरले ट्राफिक भत्ताको कुरा सम्बोधन हुने र कोभिडको बेला अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुको भत्ता आउने सम्भावना भने न्यून रहेको बताए ।
























