Breaking News

कोरोना भुलेर क्रिसमसमा रमे युवायुवती

Banner

पूर्णप्रसाद मिश्र

काठमाडौँ, पुस १०–

विश्वभरका १०८ भन्दा बढी देशमा कोरोना भाइरसको नयाँस्वरुप ओमिक्रोन फैलिएका बेला राजधानी काठमाडौँलगायत मुख्य सहरमा ‘क्रिसमस डे’ को रौनकता छायो ।

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा डिसेम्बर २५ का दिन यस समुदायका मानिसले क्रिसमस डे मनाउँछन् । क्रिश्चियन धर्म बहुल युरोप एवं अमेरिकामा भने यस वर्ष ओमिक्रोनका कारण क्रिसमसको रौनकता थिएन । नेपालमा पनि तीन जनामा ओमिक्रोन भाइरस भेटिएको छ । अझै सरकारले सतर्कता नअपनाएका कारण सङ्क्रमणको जोखिम बढेको भन्दै स्वास्थ्यकर्मीले सचेतना अपनाउन सरकारसँग माग गरेका छन् ।

बेलैमा सचेत नहुने अन्तिम अवस्थामा आत्तिने नेपालीको बानीले सङ्क्रामक रोग फैलिएका समस्या हुने गरेको डा रोशन पोखरेलले बताउनुभयो । गत वर्ष क्रिसमसका बेला कोरोनाका कारण धेरैले खुलेर मनाउन नपाएका कारण पनि यसपटक धेरै मानिस कोरोना छ भन्ने बिर्सिएर हिँडेको देखिएको उहाँले सुनाउनुभयो । स्वस्थ रहेमात्र आगामी वर्ष भव्यरुपमा पर्व मनाउन सकिने भएकाले त्यसतर्फ ध्यान चिकित्सकको सुझाव छ ।

आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले राससलाई जानकारी दिनुभयो । उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उहाँले सुनाउनुभयो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो ।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ । हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १३ हजारभन्दा चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव २०७८ आयोजना गरियो ।

पछिल्लो वर्षहरुमा मुख्य सहरका प्रमुखस्थल क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको हुन्छ । गत वर्र्ष कोरोना महामारीका कारण क्रिसमसमा चहलपहल कम भएको थियो । यस वर्ष भने पर्यटक आउने क्रम सुरु भएकाले पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।

धेरै नेपाली पनि भौतिक दूरी कायम नगरी बिना मास्क भीडभाड गरेको देखिन्थ्यो । शुक्रबार साँझदेखि नै युवायुवतीको समूह क्रिसमस मनाउन विभिन्न स्थानमा जम्मा भएका थिए । राजधानीको ट्राफिक जाम र भीडभाडले पनि क्रिसमसले धेरैको ध्यान खिचेको देखिन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>