चितवन विशेष
मैले कानुनबिना सरकारी सुविधाको सवारी प्रयोग गरेको छैन: पूर्वमुख्यमन्त्री पौडेल

चितवन, पुस १०-
बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आफूले कानून बिना सरकारी सुविधाको सवारी प्रयोग नगरेको स्पष्ट पारेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै पौडेलको सचिवालयले विभिन्न सञ्चार माध्यममा प्रकाशित प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नैतिकता सदाचारप्रति सदैव सजग रही राजनीतिमा कृयाशील उहाँको व्यक्तित्वलाई धुमिल पार्ने नियोजित षडयन्त्रपूर्वक गरिएको भ्रामक समाचारमा कुनै सत्यता नरहेको आम सर्वसाधारणमा जानकारी गराउन चाहान्छौँ । उहाँ मुख्यमन्त्री पदबाट हटेपछि तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्रीले सोही मन्त्रालयको सवारीसाधन प्रयोग गर्न दिनुभएको थियो । तर, उहाँलाई सरकारी सुविधा आवश्यक नरहेको भन्दै सवारी र सुरक्षाकर्मी समेतलाई फिर्ता गर्न मन्त्रालयका सचिवसँग कुरा भएको थियो । मन्त्रालयका सचिव ज्यूले सुरक्षाको कारण देखाउँदै अहिले सवारी र सुरक्षाकर्मी फिर्ता गर्नु उचित नहुने भनी मौखिकरुपमा भन्नुभएको थियो ।’
विज्ञप्तिमा सम्बन्धित मन्त्रालयले सवारी फिर्ता गर्नु भनि नभनेको, फिर्ता गर्न खोज्दा नलिएको तथा कुनै प्रकारको पत्राचार समेत नगरेका कारण सवारीसाधन पूर्वमुख्यमन्त्री पौडेलसँग रहन गएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कानून विपरित उहाँले सवारीसाधनको प्रयोग गरेको तथा हुँदै नभएको सरकारी सवारी चालकको सुविधासमेत लिएको, मन्त्री तथा कर्मचारीहरुले पटकपटक फिर्ता माग्दा पनि नदिएको भनी जसका विरुद्धमा समाचार लेखिएको हो उहाँसँग एक शब्द पनि नसोधी उहाँको राजनीतिक जीवनलाई नै प्रभावित बनाउने गरी लगाएको लाञ्छानाजनक समाचारको खण्डन गर्दै मन्त्रालयबाट लिखित पत्राचार भए सवारीसाधन फिर्ता गरिने ब्योहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउन चाहान्छौँ ।’

























