Breaking News
रत्ननगर महोत्सवको आकर्षण ‘जीप साइक्लिङ’, तयारी तीव्र

चितवन, पुस ८–
११औं संस्करणको रत्ननगर महोत्सवको तयारी तिव्र पारिएको छ । पुस २७ देखि माघ ८ गतेसम्म टिकौली चौरमा हुने महोत्सवको पूर्वाधार निर्माणका कामहरु भइरहेका छन् ।
यसपटक जिल्लामा एकैपटक तीन वटा ठूला महोत्सव हुन लागेकोले आयोजक रत्ननगर उद्योग वाणिज्य संघले विभिन्न आकर्षणका केन्द्रहरु थप्ने तयारीमा छ । यसपटक महोत्सवमा फरक स्वाद दिनका लागि महोत्सव परिसरभित्र ‘जीप साइक्लिङ’ राखिने महोत्सव मुल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ जानकारी दिए । ‘सबै महोत्सव एकै किसिमको भए दर्शक आउदैनन्, नयाँ स्वाद दिन ‘जीप साइक्लिङ’ राख्दैछौं’–अध्यक्ष श्रेष्ठले भने ।
गत संस्करणको महोत्सवमा धरहरा निर्माण गरिएको छ । भूकम्पले क्षति भएको धरहराको आकार दिने गरि निर्माण गरिएको धरहरमा अवलोकनकर्ताको भीड लागेको थियो । यसपटक अन्य गतिविधिहरु समेत थप गरिने अध्यक्ष श्रेष्ठले बताए । यस वर्षको महोत्सबमा पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम अन्र्तगत चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, टिकौली होमस्टे, चेपाङ वस्ती र समाजसंग साक्षात्कार हुन पहाडी पदयात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बिसहजार ताल, टिकौलीमा रहेको जैविक विविधता सुचना केन्द्रको प्रचार प्रसार्का व्यवस्था पनि मिलाइएको छ । अटो, कृषि, शैक्षिक, पशुपंक्षी व्यवसायसंग सम्बन्धित छुट्टैे परिसर रहने छ । विगतका बर्षमा जस्तै बालबालिकाहरुका लागि फनपार्क परिसरले पनि निरन्तरता पाउने अध्यक्ष श्रेष्ठले भने ।
उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ३५० स्टलहरु रहने छन् । कोभिड–१९ संक्रमणका कारण यसपटक स्टलको संख्या घटाईएको मेला व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिए । ‘विगतमै आयोजना हुने ठाउँमा यसपटक महोत्सव हुँदैछ, विगतमा ५ सय भन्दा बढी स्टल हुन्थ्यो भने यसपटक स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्टल संख्या घटाएका छौं’–संयोजक गिरीले भने ।
यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब १५ करोडभन्दा बढिको कारोबार हुने अनुमान गरिएको छ । टिकट शुल्क सर्वसाधारण तर्फ रु.५० र विद्यार्थी शुल्क रु.२५ राखिएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएको नागरिकलाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै महोत्सवमा सांस्कृतिक कार्यक्रमलाई पनि बलियो बनाउन राष्ट्रियस्तरका चर्चित कलाकारहरु आउने भएका छन् । महोत्सवमा प्रमोद खरेल, प्रकाश सपुत, दुर्गेश थापा, रचना रिमाललगायतका कलाकारहरुको प्रस्तुती रहने प्रकाशमणि सापकोटाले जानकारी दिए । महोत्सवमा पहिलोपटक नारायणी कलामन्दिरको प्रस्तुती समेत रहने उनले बताए । विभिन्न आदिवासी जनजातीका भेषभुषा तथा नृत्य सहितको कला संस्कृती समेत प्रदर्शन गरिने छ ।
यस्तै यसवर्ष पनि महोत्सव अवधिमा पौष २९ देखि ३ गते सम्म ५ दिन टाँडी बजारमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकार सहित चौथौं चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना गरिएको फुड फेस्टिबल व्यवस्थापन समितिका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
























