Breaking News

सिपले जीवन बदलिएपछि महिला सशक्तिकरणको पाठ सिकाउँदै चितवनकी पार्वती

Banner

मनिका विश्वकर्मा

चितवन, पुस ७

भरतपुरमा भएको औद्योगिक प्रदर्शनी स्थलको गेट नजिकै पार्वतीकुमारीको स्टल थियो । कलेजी रंगको स्विटर लगाएर घाँटीमा निलो परिचय पत्र झुन्ड्याएकी पार्वतीको हस्तकलाप्रति धेरै दर्शक आकर्षित भएको देखिन्थ्यो । दिनमा झण्डै दुई हजार पाँच सयवटासम्म उनले बनाएका हस्तकलाका सामग्री बिक्ने गर्दथे । सिप सिकेर राम्रो आम्दानी गरिरहेकी पार्वतीले आफू र आफ्नो परिवारमात्र नभएर समाजलाई पनि बदल्ने प्रयास गरिरहेकी छन् ।

समाजमा अझै पनि छोराछोरी बीच विभेद रहिरहेको छ । पार्वती कुमारी चौधरीले प्राकृतिक रेसा बुनेर नै आफ्नो छोरीलाई बोर्डिङ स्कुल पढाइन् । चितवनको सौहारामा हुर्के बढेकी पार्वतीको सिराहाको लाहानमा विवाह भयो ।

चितवनको रत्ननगरमा रहेको नेपाल माध्यमिक विद्यालयमा पार्वतीले विद्यालय तहको शिक्षा पूरा गरेकी थिइन् । २२ वर्षको उमेरमा विवाहमा बाधिएकी पार्वतीले नयाँ घरमा बुहारीको रुपमा आफूले सोचेको भन्दा धेरै फरक पाइन् । विवाह भएको केही समयमा नै पार्वती त्यहाँको छोरी बुहारी अशिक्षित देखेर उनले प्रौढ शिक्षा पढाउन थालिन् । तर, घरभित्रै बस्नुपर्ने बाध्यताले पार्वतीसँग पढ्न आउन सक्दैनथे ।

पार्वतीलाई श्रीमान्को घरमा गएर पनि जागिर गर्ने मन थियो । जागिरसँगै आफूलाई आत्मनिर्भर बनाउने उनको सोचलाई सामाजिक र पारिवारिक कुराले छेक्यो । लाहानमा उनको चितवनमा जस्तो महिला स्वतन्त्र हुन पाउने थिएनन् । श्रीमान्ले भनेको सबै कुराहरु मान्नुपर्ने, आफूलाई मन लागेको गर्न नपाउने, घरभित्रैको काममा सीमित हुनुपर्ने त्यो मात्रै नभएर सन्तान जन्माउने निर्णय पनि परिवारकै मान्नुपर्ने जस्ता सोच भरिएको समाजको मुखमा पुगेकी थिइन् पार्वती । पार्वतीको श्रीमान् शिक्षित भएकोले पनि उनलाई अन्य महिलाको तुलनामा कम नै शोषण थियो । पार्वती पनि शिक्षित भएको कारण उनलाई आफूले चाहेको थोरै मात्र भए नि पाउथिन् । विवाह गरेको केही वर्षमा उनको छोरा र छोरी  भए ।

योसँगै पार्वतीले पनि केही काम गर्नुपर्ने भन्ने सोच बनाइन् । सोच बनाएसँगै उनलाई घरभित्रै बसेर काम गर्नुपर्ने बाध्यता थियो । सन्तान पनि स–साना भएको कारण बालबच्चाको स्याहारसुुसारसँगै आफूलाई पनि आत्मनिर्भर बनाउने उनको सोच थियो । त्यसपछि सेभ द चिल्ड्रेन परियोजनामा जोडिइन् पार्वती । सेभ द चिल्ड्रेनले पार्वतीसहित २५ जना घरभित्र रहेका विवाहित महिलालाई प्राकृतिक रेसा बुन्ने तालिम दिए । प्राकृतिक रेसाबाट विभिन्न डिजाइन दिएर धेरै प्रकारका सामानहरु बनाउन सकिन्छ । जसलाई घरमै बसेर पनि गर्न सकिने थियो । जसलाई घरेलु उद्योगको रुपमा पनि परिभाषा गर्न सकिन्छ । अन्य महिलाको पुर्खौली पेसा भएकोले पनि पार्वतीलाई जस्तो असहज भएन । सिक्ने क्रममा पार्वतीका हातका औलाहरुलाई सियोले घोचिदिएर पुरै राता बनाइदिन्थे । यसले गर्दा पार्वतीलाई गर्दिन भन्ने सोच पनि आयो । ‘तर यो काम मलाई गर्नु नै थियो । घरधन्दा सकाएपछि के गर्ने त अरु काम गर्दा बाहिर जानुपर्ने थियो । घरको निर्णय अनुसार मैले यो काम गर्नुको विकल्प थिएन । त्यसैले यो गरे मैले’ उनले भनिन् ।

Exif_JPEG_420

पार्वतीलाई एक महिनासम्म उक्त तालिम सिक्दा पनि उनले सामान्य खालका सामान मात्रै बनाउन सकिन् । उनले सिक्ने क्रममा घिरौलाको जालीलाई कपडाभित्र राखेर नुहाउने बेला शरीर सफा गर्ने खालको वस्तु मात्रै बनाउने गर्थिन् । लाहानमा प्राकृतिक रेसाबाट बुन्ने हस्तकला सिप पहिलेदेखि नै थियो । पार्वतीकी अमाजुले पनि यो हस्तकला कामबाट सजावट, दैनिक जीवनमा प्रयोग हुने र स्टेसनरी सामान बनाउने गर्थिन् । जसले गर्दा पार्वतीलाई पनि यो काम गर्न उत्पे्ररणा मिल्यो । २०५१ सालदेखि पार्वतीले उक्त काम सिकेकी हुन् ।

बिस्तारै यो कामबाट नै उनलाई व्यापार गरी आफूलाई अघि बढाउने सोच बनाइन् । उनको घरबाट सिक्ने ठाउँ धेरै टाढा थियो । १५ किलोमिटर पैदल हिडेर नै उनले हस्तकला काम सिकेकीबताउँछिन् । उनले बुनेका सामानहरु गाँउघरकै मेलामा बिक्री बितरण हुन थाल्यो । उनले स्मरण गरिन्, ‘क्यानडाको प्रशिक्षकले तपाई पढेलेखेको हुनुहुन्छ । तपाइँ यो काम गर्न सक्नुहुन्छ । तपाइँ महिला समूहमा पनि आवद्ध भएर काम गरेकोले तपाइँले राम्रोसँग काम गर्न सक्नुहुन्छ । त्यसपछि मैले कल्पना पनि गरेको थिइन् कि मैले यो काम गर्न सक्छु भनेर ।’

सुरुमा एउटा सामान बुन्न उनलाई तीन दिनसम्म लाग्थ्यो । अहिले उनले तिन दिनमा तिन वटा सामान बुन्छिन् । बिस्तारै बिस्तारै डिजाइनको काम सिकेपछि उनले काठमाडौंमा लगेर पनि सामानहरु बिक्री गर्न थालिन् । त्यसपछि सामान बिक्री भएसँगै पार्वतीहरुले गाउँका अन्य महिलालाई पनि उक्त तालिम सिकाउन थालिन् ।

आफूले बनाएको सामान बिक्री हुन थाले उनी गाँउबाट बजारमा नै बस्न थालिन् । सोचेभन्दा बढी उनको आम्दानी बढेपछि यो कामले उनको जीवनमा परिवर्तन गराइ दियो । यही कामबाट उनीहरु महिला समूह साथै सहकारी संस्थाहरु पनि सञ्चालन गर्ने भइसकेका छन् । हस्तकलाको कामबाट नै ऋण चुक्ता गर्ने काम भइरहेको छ ।

त्यसमा जोडिए लगत्तै पार्वतीलाई महिला समूहको लिडरको रुपमा जिम्मेवारी थपियो । पार्वती भन्छिन्, ‘मलाई आफ्नो परिवारसँगै समाजलाई महिला सशक्तिकरणको पाठ सिकाउनु थियो ।’

कलासँगै पार्वतीको अगुवाइमा छोरीलाई पढाउनुपर्नेै अभियान नै सञ्चालन गरे । यसले जिल्लाभरी त लागू भएन तर पार्वतीको समुदायमा भने छोरीलाई अनिवार्य नै पढाउनुपर्छ भन्ने परिवर्तन आयो । छोरीलाई पढाउनु मात्रै नभई छोरालाई जस्तै बराबरी अधिकारसँगै आधारभूत आवश्यकता पनि पूरा गर्नुपर्ने रहेछ भन्ने सोच त्यहाँको समुदायमा आएको उनले नारायणी अनलाइनलाई जानकारी दिइन् ।

प्रदेश नं २ मा छोरीलाई पढाउन हुन्न भन्ने मानसिकता बोकेको समुदायमा पार्वतीलाई भने जसोतसो शिक्षा पाउने अवसर मिल्यो । तर पढ्ने बेला उनले छोरी भएको कारण नै जीवनमा धेरै संघर्ष सहनुप¥यो ।

पार्वतीसँगै हस्तकला सिप सिकेका २५ जना महिलाहरुका छोराछोरीले व्याचलर डिग्री सकिसकेका छन् । उनीहरु सबैले हस्तकला सिपबाट नै आफ्ना छोरीहरुलाई पढाएका हुन् । पार्वतीको पनि घरमा पनि छोराछोरी बीच विभेद थियो । तर, पार्वती सधै छोराछोरी दुवैलाई बराबरीको अधिकार हुनुपर्ने भन्दै व्यवहार गर्थिन् । छोरालाई बोर्डिङ पढाउने र छोरीलाई चाँही सरकारी स्कुल पठाउने परिवारको जिद्दी थियो । तर, पार्वतीलाई यो कुरा पचेन र उनले आफ्नै कमाईले छोरीलाई बोर्डिङ स्कुल पढाएर डिग्री पूरा गरिदिइन् ।

पार्वतीले बोल्ने मात्रै नभएर व्यवहारिकरुपमा लागू गर्ने भएकोले सबैले उनीबाट साहस र हौसला पाउने गर्थे । जसबाट छोरीलाई शिक्षित गर्नुपर्ने मानसिकताको गाँउमा विकास भयो ।पार्वतीले आफ्नो भाषासँगै नेपाली भाषा पनि शुद्ध बोल्ने गर्थिन् । जसले गर्दा पनि उनलाई अन्य महिलाको तुलनामा अवसरहरु अझ धेरै मिल्यो ।

उनी सम्झिँदै भन्छिन्, ‘आइमाई मान्छे पनि बाहिर गएर काम गर्न सक्छिन भन्ने कुराको विकास भएपछि हामी सहरमा गएर सामान बिक्रि गर्न लाग्यौ ।’ हस्तकलाको सिपले गर्दा आफूहरुले कसैलाई पनि माग्नुनपर्ने अवस्था आएको पार्वती बताउँछिन् । जसले गर्दा उनीहरुको जीवनमा परिवर्तन ल्याएसँगै आफ्नो लागि आफैँ निर्णय गर्ने भएका छन् । अहिले उनीहरुको जीवनसँगै हस्तकलाको काममा पनि परिवर्तन आएको छ । पहिले बिक्रिी बितरणको लागि काठमाडौं सम्म पुग्नुपर्ने थियो भने अहिले त्यो छैन । उनले भनिन्, ‘अहिले लाहानमा नै पुग्छन् मानिसहरु हस्तकलाका सामान किन्नको लागि ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>