Breaking News

एमसीसीलाई पारित गर्ने वा नगर्ने मुख्य जिम्मेवारी सरकारको हो, एमालेको होइनः उपाध्यक्ष पाण्डे

Banner

चितवन, पुस ५-

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सत्ता पक्ष दशतिर मुख फर्काएर बसेकोले एमसीसी पास गर्न समस्या भएको बताएका छन् । प्रेस चौतारी चितवनले आज भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष पाण्डेले सत्तारुढ दलभित्र नै एकता नभएकोले एमसीसी के हुने भन्नेमा अन्योलता रहेको बताए ।

उपाध्यक्ष पाण्डेले विदेशीले दिने कुनै पनि सहायता बिनाशर्त नेपाल नआउने स्पष्ट पार्दे एमसीसी पारित गर्ने वा नगर्ने भन्ने मुख्य जिम्मेवारी एमालेको भन्दा पनि सरकारको मुख्य रहेको बताए । उनले भने, ‘ एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्तारुढ दलहरुभित्र पनि गम्भीर असहमति छ । यसलाई अनुमोदन गर्छु भन्दै नेपाल सरकारले सम्झौंता गरिसकेको छ । प्रधानमन्त्री स्वयं अनुमोदन गर्ने वा नगर्ने भन्ने पक्षमा छन् । ’ उनले एमसीसी समस्याको समाधान नभएमा देशमा राजनीतिक समस्या पनि उब्जाउन सक्ने विचार राखे । उनले संसदबाट एमसीसी पारित नभएमा अमेरिकासँगको सम्बन्ध जटिल हुन सक्ने बताए । उनले भने, ‘ देशको समग्र परिस्थिति जटिल छ । सरकार त्यो ढंगले जिम्मेवार बनेको छैन ।’

पत्रकार सम्मेलनमा उनले देशको राजनीतिक र आर्थिक इन्डिकेटरहरु सबै खराब भएको बताए । उनले भने, ‘देशमा आयात बढ्दो छ । वार्षिक ५०० अर्ब व्यापार घाटा छ । रेमिट्यान्स घटिरहेको छ भने पाँच महिनामा ६ प्रतिशत पनि पूँजीगत खर्च हुन सकेको छैन । सरकारले राजस्व उठाएको छ तर खर्च हुन सकेको छैन ।’

एमाले उपाध्यक्ष पाण्डेले पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिँदै लोकतन्त्रको मुख्य तीनवटा अंग मानिएका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका कुनैले पनि प्रभावकारी ढंगले काम गर्न नसकेर देश नै संकटमा गएको बताए । उनले भने, ‘ संसदले एउटा पनि विद्येयक बनाउन सकेको छैन । देश अध्यादेशमा चलिरहेको छ । यो संकट कसरी सेटल हुन्छ । देश निर्वाचनतिर जान खोजेको जस्तो देखिन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>