Breaking News
भरतपुरमा कानुन नबन्दा भूमिको स्वामित्वसम्बन्धी विवाद समाधान हुन सकेन: प्रदेश प्रमुख शेरचन

चितवन, पुस ३-
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले भरतपुर महानगरमा सार्वजनिक जग्गाको स्वामित्वसम्बन्धी कानुन बन्न नसक्दा समस्या आएको बताएका छन् ।
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको पहिलो क्याम्पस सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले महानगरपालिकाकी प्रमुखलाई निर्वाचित हुने बित्तिकै यस कानुन बनाउन सल्लाह दिए पनि अहिलेसम्म कानुन बन्न नसकेको बताएका हुन् ।
प्रदेश प्रमुख शेरचनले भने, ‘ भरतपुर महानगरले सार्वजनिक जग्गाको स्वामित्वसम्बन्धी ऐन बनाउन ढिला गर्नु हुन्न । कानुन बन्न नसक्दा विभिन्न विद्यालय तथा सरकारी संघसंस्थामा भौतिक संरचनाहरु बनिसक्दा पनि ती संस्थाहरुले जग्गाको स्वामित्व प्राप्त गर्न सकेका छैनन् । कतिपय प्राथमिक विद्यालयको जग्गामा ठूला क्याम्पसहरु बनेका छन् तर जग्गाको स्वामित्व नहुँदा समस्या परेको छ । स्थानीय सरकारले कानुन बनाएर यस्ता विषयलाई टुंग्याउनु पर्छ ।’ उनले नारायणी माध्यमिक विद्यालयमा बनेको सप्तगण्डकी क्याम्पसले जग्गाको स्वामित्व प्राप्त गर्न नसकेको जस्तै भरतपुरमा यस्ता जग्गाको स्वामित्वसम्बन्धी विषय र विवाद धेरै रहेको बताए । उनले भने, ‘यस्तो समस्या देशव्यापी छ । नागरिकलाई सेवासुविधा दिन गैरनाफामुखी ढंगले स्थापित संघसंस्थाहरुले सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गरिसकेपछि जग्गाको स्वामित्व पनि उनीहरुकै हुनुपर्छ ।’
क्याम्पस सभामा प्रदेश प्रमुख शेरचनले व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले नै भरतपुरमा सप्तगण्डकी बहुमुखी क्याम्पसको स्थापना गरिएको बताए । उनले भने, ‘ चितवनका विद्यार्थीहरु उच्च शिक्षा लिनको लागि धेरै टाढा टाढा जानुपर्ने बाध्यता हटाउनको लागि सप्तगण्डकी बहुमुखी क्याम्पसको स्थापना गरिएको हो ।’
क्याम्पस सभाको उद्घाटन कार्यक्रममा चितवनबाट निर्वाचित प्रतिनिधि सभाका सांसद कृष्णभक्त पोखरेलले जापान र चीन जस्ता देशहरुले विकासमा गति लिनुको मुख्य कारण शिक्षा नै भएको उदाहरण दिए । उनले भने, ‘ प्राविधिक शिक्षाले वंशजको कारणले मात्र नभएर कोठाभित्र बसेर विश्वमा धेरै जना मालिक बन्ने गरेका छन् । तर, नेपालमा चाहेर पनि विकासका राम्रा कामहरु गर्न सकिएको छैन, राजनीतिक अस्थिरताले काम गर्न नदिने प्रवृत्ति कायमै छ । सामाजिक अन्धविश्वास र विकृतिहरु अझै पनि हट्न नसकेकोले शिक्षाको महत्व त्यत्तिकै रहेको छ ।’ उनले सप्तगण्डकी क्याम्पसले मुलुककै लागि दृष्टान्त दिने प्रकारको शिक्षा दिन जरुरी रहेको बताए ।
वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले सामुदायिक क्याम्पसको शिक्षालाई रोजगारसँग जोडेर लैजान जरुरी भएको बताए । उनले भने, ‘ प्राविधिक शिक्षा र अनुसन्धानलाई अबको शिक्षामा मुख्य प्राथमिकता दिनुपर्छ । वाग्मती प्रदेश सभाका समितिहरुमा उच्च शिक्षा विधेयक छलफलमा नै रहेकोले सामुदायिक र आंगिक क्याम्पसहरुको सञ्चालनसम्बन्धी स्पष्ट दृष्टिकोण आउँछ । प्रदेश सरकारले गरेको लगानीको सही सदुपयोग हुनुपर्छ ।’
त्यसैगरी प्रदेश सांसद विजय सुवेदीले कम्युनिस्टहरुले भन्ने गरेको प्रगतिशिल, वैज्ञानिक र समाजवादी शिक्षा दिने खालको शिक्षा नीति बन्नुपर्ने बताए । उनले भने, ‘अध्ययनपछि बेरोजगार हुन नपरोस् भन्ने प्रकारको शिक्षा अहिलेको आवश्यकता हो ।’ त्रिभुवन विश्वविद्यालयका पूर्वरजिस्टार डा. भीमराज अधिकारीले कालो चिया खाएर सारै मेहनतका साथ भैलो खेल्दै सप्तगण्डकी बहुमुखी क्याम्पसको स्थापना गरिएको अनुभव सुनाए ।
क्याम्पस सभाको उद्घाटन शत्रमा सप्तगण्डकी बहुमुखी क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटाले पहिलो क्याम्पस सभामार्फत सप्तगण्डकी बहुमुखी क्याम्पस नयाँ युगमा प्रवेश गरेको विचार राखे । उनले २०४५ सालबाट निकै मेहनतका साथ विभिन्न व्यक्तित्वहरुले मेहनत गर्दै क्याम्पसलाई आजको अवस्थामा ल्याइपु¥याएको विचार राखे । लिखित मन्तव्य राख्दै सापकोटाले पहिलो पटक त्रिभुवन विश्वविद्यालयबाट मानविकी विषयमा प्रमाणपत्र अध्ययनको स्वीकृति ल्याउनको लागि समाजसेवी चित्रलाल शेरचन र पूर्वक्याम्पस प्रमुख भिमराज अधिकारीले त्रिविको कार्यकारिणी बैठकको माइन्युटमा सात लाख बुझाउने कबुलियत गरेर सञ्चालनको स्वीकृति पाएको स्मरण गरे । कार्यक्रममा महानगरका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारीले क्याम्पसको शैक्षिक उन्नयनको लागि भरतपुर महानगरको सक्दो सहयोग रहने बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका पूर्वक्याम्पस प्रमुख बालकृष्ण पौडेलले धन्यवाद मन्तव्य राखेका थिए । क्याम्पस सभाले पहिलोपटक क्याम्पस सञ्चालक समितिको चयन गर्दै आवश्यक नीति तथा कार्यक्रमहरु पनि निर्माण गर्ने जनाइएको छ । क्याम्पसमा अहिले मानविकी, शिक्षा, व्यवस्थापन, विज्ञान संकायमा विभिन्न विषयमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययनअध्यापन हुँदै आइरहेको छ । क्याम्पसमा ६४ जना प्राध्यापक र २२ जना कर्मचारी कार्यरत रहेका छन् भने क्याम्पसमा झण्डै तीन हजार विद्यार्थी अध्ययनरत रहेका छन् । नारायणी नमुना माविको एउटा कोठाबाट २०४५ सालमा स्थापना भएको क्याम्पस नेपालका ठूला सामुदायिक क्याम्पसहरु मध्ये उत्कृष्ट १० भित्र पर्छ ।

























