Breaking News
क्रिसमस र न्यू इयरका लागि सौराहामा पर्यटकलाई आकर्षक प्याकेज, होटलमा ५० प्रतिशतसम्म छुट

चितवन, पुस १-
क्रिसमस र अंग्रेजी न्यू इयरमा मुलुकको प्रमुख पर्यटकीय गन्तब्य सौराहामा रौनक देखिने भएको छ ।
एमालेको १० औं महाधिवेशनमा भरिभराउ भएको सौराहामा अहिले पनि केही चहलपहल बढ्न थालेकोले क्रिसमस र अंग्रेजी नयाँ वर्षमा थप पर्यटक थपिने व्यवसायीले आशा गरेका हुन् ।
कोभिड संक्रमणपछि ल्याइएको ‘घुमौं सौराहा’ कार्यक्रमलाई सौराहाका होटल व्यवसायीले अंग्रेजी नयाँ वर्षसम्म निरन्तरता दिने भएका छन् । पछिल्लो समय सौराहामा विदेशी पर्यटकहरुको पनि होटल बुकिङ आउन थालेपछि अंग्रेजी नयाँ वर्षमा विशेष सांगीतिक कार्यक्रमहरु सञ्चालन गर्ने योजना व्यवसायीहरुको छ ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले क्रिसमस र नयाँ वर्षका लागि सौराहाका होटलले धामाधम बुकिङ लिइरहेको बताउँदै अहिलेसम्मको अवस्था हेर्दा उत्साहजनक रहेको बताए । उनले भने, ‘ घुमौं सौराहा कार्यक्रमलाई निरन्तरता दिँदै क्रिसमस र अंग्रेजी नयाँ वर्षमा २० देखि ५० प्रतिशतसम्म छुट दिइरहेका छौं । अंग्रेजी नयाँ वर्षमा सांगीतिक कार्यक्रम पनि सञ्चालन गर्ने योजना बनाएका छौं ।’ सौराहाका होटलले क्रिसमस र न्यू इयरका लागि ३५ सय रुपैयाँदेखि आठ हजार रुपैयाँसम्मको प्याकेज बिक्री गरिरहेका छन् । त्यो बाहेक आन्तरिक पर्यटक तान्न हात्ती महोत्सव र सडक महोत्सव समेत गर्ने तयारी छ । सौराहाका व्यवसायीहरुले पर्यटकको आगमन बढ्न थालेपछि बिदामा पठाएका कर्मचारीलाई फर्काउन थालिसकेका छन् ।
सौराहामा आन्तरिकसँगै भारतीय पर्यटक पनि बढ्न थालेका छन्। सौराहाका होटलमा अहिले ४० प्रतिशत अकुपेन्सी छ। क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईले नारायणी अनलाइनलाई भने, ‘ कोरोनापछि हामीले यस व्यवसायमा लय समात्न थालेका छौं । सौराहामा चहलपहल बढिरहेको छ । बुकिङ पनि राम्रो आइरहेको छ ।’
























