इच्छकामना
स्तरोन्नती गर्न मनकामना केबलकार चार दिन बन्द हुने

चितवन, पुस १–
स्तरोन्नतीका लागि नेपालको पहिलो मनकामना केबलकार चार दिन बन्द हुने भएको छ ।
आइतबार (पुस ४ गतेदेखि ७ गतेसम्म)का लागि केबलकार बन्द गर्न लागिएको हो । मर्मत संभारसकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ।
सो अवधिभरी केबलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत हुनेछ।
कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो।
लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयरपार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो। साथै केबलकारको लठ्ठा, ग्रिपलगायतका उपकरणहरु पनि स्तरोन्नति गर्ने जनाइएको छ।
चालुआर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ।
कम्पनीका अनुसार केबलकारको भवन, टावर, गोन्डोला, बुलह्वीललगायत उपकरण भने साबिककै रहनेछ। यो सबैस्तरोन्नति सम्पन्न भएसँगै मनकामना केबलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको हुनेछ।
























