चितवन विशेष
भोलि नारायणी किनारमा सप्तरंग कार्यक्रम, नेपाल टेलिकमको निःशुल्क सिम बाडिँदै

चितवन, मंसिर २७-
नेपाल टेलिकमले भोलि चितवनको नारायणी किनारमा निःशुल्क सिम वितरण गर्ने भएको छ । नेपाल टेलिकमको प्रायोजनमा हुने सांगीतिक कार्यक्रम ‘सप्तरंग–३’ को अवसरमा निःशुल्क सिम वितरण गर्न लागिएको हो । कार्यक्रममा महानायक राजेश हमालसहित विभिन्न राष्ट्रिय कलाकारहरु सहभागी हुने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकम भरतपुरले आज एक सूचना जारी गर्दै कार्यक्रमबारे उल्लेख गरेको छ । टेलिकमले सिम कार्ड लिन चाहने जोकोही व्यक्तिले नागरिकता वा पासपोर्टको फोटोकपी लिएर कार्यक्रमस्थलमा जान नेपाल टेलिकम भरतपुरका कार्यालय प्रमुख नविन कुमार मिश्रले अनुरोध गर्नुभयो ।
के हो सप्तरंग कार्यक्रम ?
मंसिरको २४ गते पूर्वी नेपालको काँकडभिट्टाबाट सुरु भएको यो कार्यक्रम पुस ९ गते नेपालको पोखरामा पुगेर समापन हुनेछ । यो कार्यक्रम मङ्सिर २६ गते जनकपुरमा सम्पन्न भएर भोलि मंसिर २८ गते चितवनमा हुने भएको छ । त्यसैगरी पुस १ गते नेपालगञ्ज, पुस ३ गते सुर्खेत, पुस ५ गते धनगढी र पुस ९ गते पोखरामा आयोजना हुनेछ ।
चितवनको कार्यक्रममा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, अनिल सिंह, हास्य कलाकारद्वय सन्दीप क्षेत्री र राजा राजेन्द्र, गायिकाहरु मिलन नेवार र अस्मिता अधिकारी, मोडल उषा उप्रेती सहभागी हुनेछन् । यस्तै नेपाल प्रहरीका ६ जना कलाकारको प्रस्तुति पनि कार्यक्रममा रहनेछ ।
कोरोना महामारीका कारण सुस्ताएको रंगमञ्चलाई यो कार्यक्रमको माध्यमबाट नयाँ गति दिने उद्देश्य रहेको गृष्मा ब्रोडकास्टिङले जनाएको छ । कार्यक्रममा गीत, नाटक, प्लेकार्ड, अडियोजस्ता माध्यमबाट नागरिकलाई सचेत गराउने कार्यक्रम मुख्य प्राथमिकतामा रहेको छ । साथै नेपाल प्रहरी, सम्बन्धित स्थानका सामाजिक संस्था र विद्यार्थीहरूको ¥यालीसहित नाटक देखाउने, गीत गाउने बताइएको छ ।
























