Breaking News
चितवनमा विद्युत् प्राधिकरणले १३ सेवा प्रदायकसँग ८१ लाख पोलभाडा उठायो

चितवन, मंसिर २६-
नेपाल विद्युत् प्राधिकरणले चितवनका १३ सेवा प्रदायकसँग ८१ लाख रुपैयाँ पोल भाडा उठाएको छ ।
२०७२ सालदेखि विद्युत् प्राधिकरणको पोल भाडा नतिरेपछि दबाबको लागि प्राधिकरणले भरतपुरका विभिन्न ठाउँमा सेवा प्रदायकहरुको तार काटेको थियो । झण्डै दुई दिनसम्म भरतपुरमा इन्टरनेट अवरुद्ध हुँदा नागरिकका धेरै दैनिक कामहरु अवरुद्ध भएका थिए ।
अहिले प्राधिकरणको पोलभाडा उठाउने अभियान पनि सफल हुँदै गएको छ । चितवनमा अहिलेसम्म १३ वटा सेवा प्रदायकले करिब ८१ लाख रुपैयाँ बराबरको पोलभाडा सम्झौता गरेको विद्युत प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरण भरतपुरका प्रमुख राजिवकुमार सिंहले यो महिनाको अन्त्यसम्ममा अझ धेरै रकम उठाइने बताए । उनले भने, ‘यो सुरुवात मात्र हो । तिर्नुपर्ने सबै रकम तिरेका छैनन् । हामी अझ दबाब दिन कडारुपमा प्रस्तुत हुनेछौं । हेर्दे जानोस् ।’
चित्रवन युनिक केबल एक्लैले ३० लाख ५५ हजार रुपैयाँ तिरेर पोलभाडा सम्झौता गरेको छ । सुबिसु केबल नेटले पनि २२ लाख २४ हजार रुपैयाँ तिरेर पोल भाडा सम्झौता गरेको छ । चितवनको अन्य कम्पनीहरुले भने २५ हजार देखि ६ लाख ६१ हजार रुपैयाँसम्म तिरेर पोल भाडा सम्झौता गरेका हुन् ।

























