Breaking News
एमालेको सूचीमा किन अटाएनन् पोखरेल र लामा ? कार्यकर्ता भन्छन्: अन्याय भयो

चितवन, मंसिर २६-
एमालेको केन्द्रीय कमिटी बैठकले तयार गरेको प्रदेश र केन्द्रीय कमिटीको सूचीमा चितवनका संघीय सांसद कृष्णभक्त पोखरेल परेनन् ।
उनको नाम सूचीमा नदेख्दा चितवनका नेता तथा कार्यकर्ताले आश्चर्य व्यक्त गरेका छन् । उनले एमालेको १० औं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका थिए । तर, एमाले अध्यक्ष केपी ओलीले तयार गरेको सूचीमा पनि उनको नाम नपरेपछि एकता महाधिवेशनलाई ध्यान दिँदै उनले केन्द्रीय सदस्यमा स्वतन्त्र ढंगले मनोनयन दिएनन् । चितवनका पार्टी नेता तथा कार्यकर्तालाई आज पार्टीको केन्द्रीय कमिटीले तयार गरेको सूचिमा उनको नाम त पर्छ भन्ने नै थियो तर सो सूचिमा पनि उनको नाम नदेख्दा चितवनका एमाले नेता तथा कार्यकर्ता निराश बने । चितवनका एक युवा नेताले नारायणी अनलाइनलाई भने, ‘ कार्यकर्ताले मन पराएको कृष्णभक्त नेताको आँखामा परेनन् ।’ पोखरेलले चितवनमा सम्पन्न १० औं महाधिवेशन सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले नेताहरुको आवास व्यवस्थापनमा दिनरात नभनी खटेका थिए ।
नेकपा एमाले चितवनका सहसचिव प्रकाश ढुंगानाले आज फेसबुकमा एक स्टाटस लेख्दै लेखेका छन्, ‘ जसको नेतृत्वमा एमालेले चितवनको सात मध्ये, ६ स्थानीय तहमा शानदार विजय प्राप्त गर्यो ! उहाँकै नेतृत्वमा संघ र प्रदेशमा अभुतपूर्व विजय हासिल भयो र उहाँ आफैंले विपक्षी उम्मेदवार भन्दा १७ हजार बढी मत प्राप्त गरेर शानदार रूपमा विजयी हुनु भयो! चितवन महाधिवेशन सफल पार्न अहोरात्र खट्नु भयो तर पनि नेतृत्वको नजरमा पर्नु भएन ! र पनि हामीलाई विश्वास छ, तपाईंको निष्ठा रत्तिभर डगमगाउने छैन ! ’
त्यसैगरी चितवनबाट प्रदेश मन्त्री भएर लोकप्रिय काम गरेका नेता दावादोर्जे लामा पनि केन्द्रीय सदस्यमा परेनन् । कार्यकर्ताहरुले सामाजिक सञ्जालबाट असन्तुष्टि जनाइरहेका छन् । उनले बागमती प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री हुँदा राम्रो काम गरेको छवी बनाएका छन् । उनि आदिवासी जनजाति समूदायका लोकप्रिय नेता मानिन्छन् । चितवनका विद्यार्थी नेता प्रकाश कालाखेतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ः ‘पार्टी संकटको बेला पार्टीको पक्षमा लागि निरन्तर काम गर्ने, जनताको पक्षमा, विकासको पक्षमा निरन्तर लागिरहने लोकप्रिय नेता दावा दोर्जे लामाज्युलाई केन्द्रीय कमिटीले उचित मूल्यांकन नगर्नु दुःखद छ । हिजोको अप्ठ्यारो परिस्थितिमा कमान्ड गर्दै साथ दिएका नेता कार्यकर्ताको उचित मूल्यांकन पार्टीभित्रको आजको मुल आवश्यकता हो ।’ २०४३ सालमा जनपक्षीय प्रधानपञ्च बनेका लामा २०५४ सालमा जिल्ला विकास समिति सदस्य हुँदै वाग्मती प्रदेशको सांसद र भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री बनेका थिए ।
























