Breaking News

प्रथम पदमपुर पर्यटक साँस्कृतिक तथा व्यापारिक महोत्सव भोलिदेखि हुँदै

Banner

चितवन, मंसिर २२ –
प्रथम पदमपुर पर्यटक साँस्कृतिक तथा व्यापारिक महोत्सव भोलिदेखि सुरु हुने भएको छ ।

साङ्गे कज्युङ गुम्बा पदमपुरको आयोजनामा कालिका नगरपालिका– ४ स्थित पदमपुर क्याम्पस प्राङ्गणमा महोत्सव हुन लागेको हो ।

आयोजक समितिले आज पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । भोलि मंसिर २३ गते उद्घाटन गरिने महोत्सव पुष ४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

गुम्बाका अध्यक्ष पदमबहादुर तामाङले निर्माणाधीन अवस्थामा रहेका गुम्बाको निर्माणका लागि आर्थिक संकलन गर्नुका साथै पदमपुरको पर्यटकीय तथा सांस्कृतिक विकास गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको बताए ।

महोत्सव मूल व्यवस्थापन समितिका सदस्य एवम् महोत्सव भित्रका बाल उद्यानका संयोजक सन्तोष तामाङ्गले महोत्सवमा १०० वटा स्टलहरु रहने बताए । उनले ८० वटाभन्दा बढी स्टल बुकिङ भइसकेको बताउँदै केही स्टल बुकिङ हुन बाँकी रहेको जानकारी दिए ।

उनले महोत्सव प्रवेशमा ५० रुपैयाँको टिकट रहेको जानकारी दिँदै वृद्धवृद्धा र नाबालकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।

११ दिनसम्म चल्ने महोत्सवमा प्रत्येक दिन दिउँसो राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने तामाङ्गले जानकारी दिए । महोत्सवमा कलाकारहरु खुमन अधिकारी, पशुपति शर्मा, ज्योति मगर, कमल खत्री, एलिना चौहान, मार्मिक लामा, रचना रिमाल, महादेव त्रिपाठी, मनोज बिक, मिलन लामा, नेत्रजी पन्त, राजु परियार, उमादेवी खनाल र बलराम सरकारको प्रस्तुती रहने छ ।

यसका अलवा पुष २ गते भिटेन, पुष ३ गते मिस्टर डी र पुस ४ गते लाहुरेले साँझ प्रस्तुती दिने तामाङ्गले जानकारी दिए । दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म उनीहरुको प्रस्तुती रहने छ ।

महोत्सवमा स्थानीय तथा सांस्कृतिक भेषभूषासहित स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने तामाङ्गले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>