Breaking News

भरतपुरका ६ मुसहर परिवारलाई घर निर्माण, काम गरेर देखाएको मेयर दाहालको दाबी

Banner

चितवन, मंसिर २२-

भरतपुर महानगरपालिकाले आवास कार्यक्रमअन्तर्गत २०७७\७८ को बजेटबाट वडा नं २७ र २८ मेघौली दद्रेनीको मुसहर बस्तीमा आवास निर्माण गरेको छ ।

नवर्निमित सामूहिक आवासलाई आज हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले चुनावी अभियानकै क्रममा यहाँको मुसहरको दयनीय अवस्था देखिपछि आफूले जनताको आधारभूत आवश्यकता अनुसार घर बनाइदिने अठोट लिएको बताइन् । सोही प्रतिबद्धता अनुसार आज काम पूरा भएको र घर हस्तान्तरण गर्न पाउँदा निकै खुसी लोगेको बताइन् ।

उनले भनिन् ‘यहाँ आउँदाखेरी यहाँका मुसहर बस्तीहरु दयनीय अवस्थामा थियो, माथि खरको छानो त्यसमा पनि पानी चुहिरहेको थियो त्यो अवस्था देख्दा घर बनाइदिनुपर्छ भन्ने लाग्यो अहिले घर निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुसी लागेको छ ।‘ आफूले बोलेर भन्दा काम गरेरै भरतपुरको विकास र समृद्धिको जनतालाई अनुभुति गराएको स्पष्ट पारिन् । विपन्न समुदायको आवास व्यवस्थापन महानगरको पहिलो योजना रहेकोले हरेकले घर पाउने अवस्था सुनिश्चित भएको उनले बताइन् ।

कार्यक्रममा घर निर्माण उपभोक्ता समितिका संयोजक टिकाराम भुसालले २३ लाखको बजेटले पक्की घर, भान्सा, टवाईलेटसहित दुई कोठा निर्माण गरिएको बताए । उनले नगर प्रमुख रेनु दाहालले फिल्डमै आई यहाँको बस्तीको अवस्था बारे विस्तृत जानकारी लिएको बताए । यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी वडा नं २७ का अध्यक्ष मोतीराम भुषालले जनतालाई बोलेको बाचा पूरा गरेकोमा मेयर दाहाललाई धन्यवाद दिए ।

नयाँ घर पाएपछि चितवनको मुसहर समुदायमा खुसी छाएको छ । भरतपुर महानगरपालिकाले नयाँ घर बनाएर हस्तान्तरण गरेपछि चितवन वडा नम्बर २७ र २८ का ६ घर मुसहर परिवारमा खुसीयाली छाएको हो ।

सुनिता मुसहरले घर बिहिन भएका आफूहरु घर पाउँदा खुुसी भएको बताइन् । ‘बस्ने टहरासमेत राम्रो थिएन,आज धेरै खुसी छु मेयर रेनु दाहाल भगवान बनेर आउनुभयो, घर बनाइदिनुभयो उनले भनिन् ।’

टुलिय मुसहरले पनि घर पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन् ‘ पहिला कस्तो दुःखमा बसेका थियौँ अहिले धेरै राम्रो भएको छ खुसी लागेको छ ।’ दीपक मुसहरले माछा मारेर भए पनि बिहान बेलुका पेट पाल्ने गरे पनि बस्ने घर नहँुदा थप कष्टकर जीवन बिताउन परेको बताए । अहिले घर पाउँदा आफुहरु खुसी भएको बताउदै मेयर रेनु दाहाललाई धन्यवाद दिए ।

कार्यक्रममा दीपक मुसहर, शम्भु मुसहर,राजु मुसहर,गेडह मुसहर र पत्रुस मुसहरलाई घर निर्माण गरी हस्तान्तरण गरिएको हो । राज कुमार मुसहरको परिवारलाई भने गत बर्ष नै हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मेघौली मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष श्यामप्रसाद अधिकारी, बर्दाहा सामुदायिक वनका अध्यक्ष सोम महतो लगायत रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>