Breaking News
एमाले चितवनले भन्यो: पार्टीको दशौं महाधिवेशनमा उर्लिएको जनसागर ऐतिहासिक

चितवन, मंसिर १६-
नेकपा एमाले चितवनले पार्टीको नारायणी नदी किनारमा भएको दशौं केन्द्रीय महाधिवेशन उद्घाटन शत्रमा उर्लिएको जनसागर ऐतिहासिक भएको बताएको छ ।
एमाले चितवनले आज एक विज्ञप्ति जारी गर्दै उद्घाटन सत्रमा उर्र्लिएको त्यो जनसागर नेपालको राजनीतिक इतिहासमा अत्यन्तै ठूलो भएको जनाएको हो । विज्ञप्तिमा सो दिन नेपालको राजनीतिक इतिहासमा नै ऐतिहासिक दिनको रुपमा रहने जनाएको छ ।
पार्टीले चितवन महाधिवेशनले चितवनका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थानहरु देशव्यापी रुपमा परिचित भएको जनाएको छ । एमाले जिल्ला अध्यक्ष पार्वती रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पर्यटकीय स्थल सौराहा स्वदेशमा मात्रै होइन विदेशमा समेत प्रख्यात स्थलको रुपमा परिचय प्राप्त गर्न सफल भएको छ । सौराहा र जिल्लाका अन्य पर्यटकीय स्थललाई अझ व्यवस्थित, सुविधासम्पन्न र पर्यटकमैत्री बनाउन सरकार र सरोकारवालाहरुसँग अपिल गर्न चाहन्छु ।’
विज्ञप्तिमा नेकपा (एमाले)को दशौँ राष्ट्रिय महााधिवेशन भव्यताका साथ सम्पन्न भएकोमा यो महाधिवेशन आयोजना गर्ने अवसर दिने पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन केन्द्रीय कमिटीप्रति आभार पनि व्यक्त गरिएको छ । त्यसैगरी पार्टीले विज्ञप्तिमा भनेको छ , ‘पार्टीका शीर्ष नेतृत्व, ९० भन्दा बढी भौगोलिक र गैरभौगोलिक जिल्ला र प्रवाशबाट पाल्नुभएका प्रतिनिधि पर्यवेक्षकहरु र उपस्थित सम्पूर्ण जनसमुदायप्रति अतिथिको रुपमा स्वागत गर्न पाउँदा नेकपा (एमाले) चितवनका सम्पूर्ण कमिटी, पार्टी सदस्यहरु र आमचितवनवासी गौरवान्भित भएका छौँ ।’
कार्यक्रममा सहभागी नेताहरु, प्रतिनिधि, स्वयम्सेवकहरु, सरकारी कार्यालय, होटल व्यवसायी संघसंस्थाहरु स्वास्थ्यकर्मी, सांस्कृतिकर्मी, सुरक्षाकर्मीहरु सञ्चारकर्मी पत्रकार साथीहरु, यातायात व्यवसायीहरु र अन्य सहयोकर्ताहरुप्रति एमाले चितवनले विज्ञप्तिमार्फत् हार्दिक धन्यवाद एवम् आभार व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ , ‘चितवनवासी आमजनसमुदायले जसरी चासो राख्नुभयो, उपस्थित हुनुभयो, र अतिथिहरुलाई न्यानो स्वागत र सहयोग प्रदान गर्नुभयो, आमचितवनवासीप्रति हामी हार्दिकतापूर्वक नमन गर्न चाहन्छौँ र आगामी दिनहरुमा पनि यस्तै उत्साहपूर्ण सहयोगको अपेक्षा राख्दछौँ ।’
एमाले चितवनले महाधिवेशनले नेकपा (एमाले) जनताको पार्टी हो, यही पार्टीले नेपाललाई समृद्ध बनाउन सक्छ भन्ने कुरा थप पुष्टि भएको जनाएको छ । विज्ञप्तिमा एमाले पार्टीले मात्र राष्ट्रियताको जगेर्ना र देशको समस्या समाधान गर्न सक्छ भन्ने प्रमाणित भएकोले समग्र पार्टी पंक्ति बहुमतको सरकार निर्माणतर्फ जानुपर्ने उल्लेख गरेको छ ।

























