Breaking News

म पनि राप्रपा जस्तै राष्ट्रवादी हो: प्रचण्ड

Banner

काठमाण्डौ, मंसिर १५-

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताएका छन् ।

आजदेखि काठमाण्डौमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष दाहालले आफ्नो राष्ट्रवाद र राप्रपाको राष्ट्रवाद उस्तै भएको टिप्पणी गरेका हुन् ।

उनले राप्रपा र आफ्नो पार्टीको मत भने नमिल्ने स्पष्ट पारे । तर पनि राप्रपाले संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सघाएर भिन्न परिस्थितिमा भिन्न खालको देशभक्ति देखाएको अध्यक्ष दाहालको तर्क थियो ।

अध्यक्ष दाहालले राप्रपाले इतिहासतिर फर्केर राष्ट्रवादको कुरा उठाउने गरेको उल्लेख गर्दै आफूहरूले नेपाली नागरिकलाई राष्ट्रवादको मुख्य आधार बनाएर अघि बढेको दाबीसमेत गरे । उनले भन्नुभयो , ‘हाम्रो मत त मिल्दैन । म गणतन्त्रवादी, धर्म निरपेक्षतावादी । तर म पनि तपाईँहरूजस्तै राष्ट्रवादी । राष्ट्रवादको व्याख्या गर्दा दुइटा आधारभूत कुरा छन् । एउटा राष्ट्रवाद भन्नेबित्तिकै अघि बढी हिजोको इतिहासमा भएका सकारात्मक र गौरवपूर्ण कुराहरूलाई आधार बनाएर अहिले पनि इतिहासतिर फर्कने राष्ट्रवाद । अर्काे, नेपालको सम्पूर्ण नागरिकलाई राष्ट्रवादको आधार मान्दै नागरिकतिरै फर्कन खोज्ने राष्ट्रवाद । मैले यो देशका सबै मजदुर, किसान, सबै उत्पीडित मधेशी, आदिवासी, जनजाति, दलित, महिला, थारुलगायत सबैको पहिचान र अधिकारको लडाइँ लडेकै हो । म राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्ताहरूलाई यस अर्थमा पनि धन्यवाद दिन चाहन्छु– तपाईँहरू आफ्नो राजनीतिक विचार र मतमा भिन्न हुँदा हुँदै पनि देशमा राजनीतिक अस्थिरता र अराजकता पैदा नहोस् भन्नका निम्ति, देशले गति लिइराखोस् भन्नेका निम्ति संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन तपाईँहरूले गरेको योगदानलाई मैले भिन्न परिस्थितिमा गरेको देशभक्ति ठान्दछु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>