Breaking News

एमाले महाधिवेशनः भरतपुर विमानस्थलमा यात्रुहरुको भीड बढ्यो,आजबाट गुड एयरलाइन्सको पोखरा उडान सुरु

Banner

चितवन, कात्तिक ८-

नेकपा एमालेको चितवनमा पर्सीबाट सुरु हुने १० औं महाधिवेशनले गर्दा भरतपुर विमानस्थलमा यात्रुहरुको भीड बढेको छ ।

एमाले नेता तथा कार्यकर्ताहरु विभिन्न जिल्लाबाट चितवन आउनेक्रम बढ्न थालेसँगै विमानस्थलमा भीड बढ्न थालेको हो । भरतपुर विमानस्थलका सूचना अधिकारी दिपक विकले विमानस्थलमा आजबाट भीड बढ्न थालेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ महाधिवेशन नजिकिएसँगै चितवनमा भीआईपीहरु आउने र जाने क्रम बढ्न थालेको छ । विमानस्थलमा भीडभाड बढेको छ । ’

बुद्ध एयरका प्रवन्धक भक्त बस्नेतले महाधिवेशनले विमानस्थलमा चहलपहल बढ्न थालेको जानकारी दिए । उनले भने, ‘ काठमाडौँमा दैनिक १० उडान, पोखरा र भैरहवामा दुई उडान गरिरहेका छौं । सबै जहाजमा यात्रु भरिएको छ । यात्रुको संख्या निरन्तर बढिरहेको छ ।’

असोज १ गतेबाट काठमाडौँ उडान सुरु गरेको गुड एयरलाइन्सले एमाले महाधिवेशनलाई दृष्टिगत गरी आजबाट पोखरा उडान सुरु गरेको छ । गुडले यसअघि दैनिक तीनवटा काठमाडौँ उडान गर्दै आएको छ । गुड एयरलाइन्सका स्टेशन इन्चार्ज कुलराज शर्माले सबै बिमान काठमाडौँबाट भरिएर आउँन थालेको जानकारी दिए । उनले भने, ‘बिमानस्थलमा चहलपहल बढेको छ । एमाले महाधिवेशन भरको लागि टिकट अग्रिम बुकिङ गर्नेको संख्या बढ्दो छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>