Breaking News

चितवनको सुरक्षा व्यवस्थामा कडाई, महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी खटिँदै

Banner

चितवन, मंसिर ७-

नेकपा एमालेको महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् ।

एमाले महाविधेशनको सुरक्षाको लागि चितवन र नवलपुरमा गरी १५ सय बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो ।

महाधिवेशन उद्घाटनका दिन चितवनतर्फ नेपाल प्रहरीको ८००, सशस्त्र प्रहरीको ४५०, राष्ट्रिय अनुसन्धानको ९० तथा नवलपुरको गैँडाकोट क्षेत्रमा नवलपुरबाट नेपाल प्रहरीको १०० बढी सुरक्षाकर्मी परिचालन गरिँदैछ । नारायणी नदी किनारमा हुने उद्घाटन सत्रको कार्यक्रममा चितवन र नवलपुरतर्फबाट सहभागीहरुले कार्यक्रम अवलोकन गर्ने भएकाले दुवै जिल्लाको सुरक्षा व्यवस्था कडा पार्न लागिएको हो । नवपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीले चितवनसँग समन्वय गरेर नवपुरको सुरक्षा व्यवस्था मजबुत पार्ने गरी काम भइरहेको बताइन् ।

चितवनमा महाधिवेशन उद्घाटन हुने स्थान र बन्दसत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समिति संयोजक आशमान तामाङले बताए । एमालेका पदाधिकारीसँग बसेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनबारे छलफल भएको भन्दै तामाङले जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट विशेष योजना बनाएर काम भइरहेको जानकारी दिए । जिल्लाका विभिन्न १३ स्थानमा सवारीसाधन पार्किङस्थल निर्माण गरिएको भन्दै तामाङले महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट पश्चिमतर्फ महाधिवेशन उद्घाटन स्थल नारायणगढसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने तामाङले बताए ।

‘एमाले महाधिवेशनका लागि प्रहरी नायब महानिरीक्षक (डिआईजी)को नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन हुँदैछ’ तामाङले भने, ‘महाधिवेशनस्थलसहित जिल्लामा आउने भीआईपी, भीभीआईपी र विदेशी डेलिगेट्सको सुरक्षामा केन्द्रित हुनेगरी सुरक्षा योजना बनेको छ ।’ मङ्सिर १० गते नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन पश्चात् सोही दिन रातिदेखि नै सुरक्षा व्यवस्थालाई सौराहा केन्द्रित पारिने तामाङले बताए । ‘महाधिवेशनमा आउने प्रतिनिधि सहित भीआईपी, प्रतिनिधि र विदेशी डेलिगेट्सहरु बन्दसत्र हुने होटलमा बस्ने भएकाले सोहीअनुसार सुरक्षा योजना बनाएका छौँ’ तामाङले भने, ‘सुरक्षा घेरा साँघुरो हुने भएकाले हामीलाई व्यवस्थापन गर्न सहज हुनेछ ।’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको एकीकृत सुरक्षा योजना तयार भएको बताए । जिल्लामा भएका भन्दा थप ६५० जना नेपाल प्रहरीका सुरक्षाकर्मी चितवनमा परिचालन गर्नेगरी प्रदेशसँग माग गरिएको अधिकारीले बताए । ‘महाधिवेशन केन्द्रित गरी नेपाल प्रहरीको ८०० भन्दा बढी जनशक्ति परिचालन गर्दैछौँ’ अधिकारीले भने, ‘थप जनशक्ति नेपाल प्रहरी शिक्षालय भरतपुर, दङ्गा नियन्त्रण गण हेटौँडा र प्रदेश प्रहरी कार्यालयबाट आउनेछ ।’

त्यस्तै सशस्त्र प्रहरीको ४५० भन्दा बढी जनशक्ति परिचालन हुने १७ नम्बर गण आँपटारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापाले बताए । १७ नम्बर गण र मातहतमा रहेका जनशक्तिको अवला बाहिनी मार्फत थप २५० सुरक्षाकर्मी महाधिवेशनका लागि परिचालन गर्ने तयारी भइरहेको थापाले बताए । सशस्त्र प्रहरीले उद्घाटन सत्र र बन्दसत्र हुने स्थलको बाहिरी सुरक्षा हेर्ने थापाले बताए ।

त्यसैगरी जिल्लाको सुरक्षाअवस्थाबारे जानकारी लिनका लागि राष्ट्रिय अनुसन्धान विभाग चितवनले ९० जना जनशक्ति परिचालन गरेको छ । राष्ट्रिय अनुसन्धान विभाग चितवनका उपअनुसन्धान निर्देशक शेरजङ्ग चन्दले बताए । जिल्लामा रहेका ५० जना राष्ट्रिय अनुसन्धानका कर्मचारीसहित थप ४० जना कर्मचारी परिचालन गरेर जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिने काम भइरेको चन्दको भनाइ छ ।

‘महाधिवेशनमा पाँच लाख जनसहभागिता हुने भनिरहँदा सुरक्षा संवेदनशीलता पक्कै रहन्छ’ चन्दले भने,‘केही स्थानको सेक्यु्रिटी थ्रेटबारे हामीले सुरक्षा समितिमा जानकारी गराएका छौँ ।’ राष्ट्रिय अनुसन्धान विभागले समग्र सुरक्षा व्यवस्थाबारे जानकारी लिने र सुरक्षा समितिमा जानकारी गराउने चन्दको भनाइ छ । राष्ट्रिय अनुसन्धान विभागले महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनार र बन्दसत्र हुने स्थान सौराहा केन्द्रित गरेर जनशक्ति परिचालन गरेको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले महाधिवेशनलाई लक्षित गर्दै थप जनशक्ति प्रदेश प्रहरी कार्यालय पोखरासँग माग गरिएको बताए । ‘हामीले थप सुरक्षाकर्मी प्रदेशसँग माग गरिसकेका छौँ’ मल्लले भने, ‘भोलि बिहानसम्म थप सुरक्षाकर्मी जिल्लामा आइपुग्छन् ।’ नवलपुरभन्दा पश्चिमबाट महाविधेशनमा सहभागी हुन आउने सवारीसाधनलाई गैँडाकोटमा रोकिने भन्दै मल्लले नदी किनार सहितका स्थानलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने बताए ।

नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले बाटोमा जाम हुनसक्ने भन्दै त्यसका लागि समेत व्यापकरुपमा ट्राफिक प्रहरी परिचालन गरिने मल्लले बताए । ‘हामीले नवलपरासी पश्चिम र रुपन्देहीको प्रहरीसँग समन्वय गरेर काम गरिरहेका छौँ, मल्लले भने, ‘मङ्सिर ९ गते रातिबाट नै हामीले पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डमा मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने गरी काम गरिरहेका छौँ ।’

नेकपा एमालेको १०औँ राष्ट्रिय महाविधेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुनेछ भने ११ र १२ गते सौराहाको सेभेन स्टारमा बन्दसत्र हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>