चितवन विशेष
पर्यटन मन्त्री आलेद्वारा भरतपुरको जेम्स वल्र्ड फन पार्कको अवलोकन

चितवन, मंसिर ६-
पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भरतपुरको लंकुमा रहेको जेम्स वल्र्ड फन पार्कको अवलोकन गरेका छन् ।
भरतपुर महानगरको ‘समृद्ध भरतपुरको लागि विकास बहस’ कार्यक्रममा सहभागी भएका आले कार्यक्रम सकिए लगत्तै अन्तर्राष्ट्रिय स्तरको जेम्स वल्र्ड फन पार्कमा अवलोकनमा पुगेका हुन् । उनीसँगै नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक राजकुमार क्षेत्री र चितवनकी प्रदेश सांसद पार्वती सिलवाल पनि फनपार्कमा पुगेका थिए ।
पार्कमा मन्त्री आलेले पार्कले उपलब्ध गराएको विभिन्न सेवाको बारेमा फन पार्कका अध्यक्ष महेश तिवारीसँग जानकारी लिएका थिए । साथै मन्त्री आलेले फनपार्कमा रहेको रेलको पनि मजा लिएका छन् । अवलोकनपछि पर्यटन मन्त्री आलेले यसप्रकारको पार्क धनगढीमा पनि बनाउन अध्यक्ष तिवारीलाई अनुरोध गरे । उनले भने, ‘ यस्ता पार्कले आन्तरिक पर्यटन प्रवद्र्धन गरेर आर्थिक विकासमा टेवा पु¥याउने भएकोले सरकारले पार्कको प्रवद्र्धनमा सक्दो सहयोग गर्नेछ ।’
सोही अवसरमा मन्त्री आलेले राज्यले गर्नुपर्ने काम तपाईंहरुले गरेको भन्दै अध्यक्ष तिवारीलाई धन्यवाद पनि थिए । उनले भने, ‘आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्नलाई तपाइँहरु पर्यटन व्यवसायीसँग हतेमालो गरेर राज्य अगाडि बढ्छ । युवाहरुले नै हो देश बनाउने र रोजगार सिर्जना गरेकोमा धेरै धन्यवाद छ ।’

नारायणगढबाट तीन किलोमिटर दुरीमा तीन बिघा क्षेत्रफलमा रहेको फन पार्कमा सानादेखि ठूला गरी १०० खेल समावेश छन् । सबै उमेर समूहलाई लक्ष्य गरी छुट्टा छुट्टै खेलको व्यवस्था गरिएको छ । पार्कमा चितवनमा नै पहिलोपटक ल्याइएको वाटर पार्कलाई विशेष आकर्षणको रूपमा राखिएको छ । वाटर पार्कमा दुई ठूला टनेल छन् । ४३ फिटको उचाइबाट २६५ फिट लामो टनेलमा पानीमा रम्दै झर्ने व्यवस्था गरिएको छ । पार्क निर्माणमा २५ करोड बढी लगानी भएको छ ।

























