Breaking News

भरतपुरमा अटोल्याण्ड : डिपिआर बन्यो, ईआईए हुँदै

  • Logo
    app haru
  • ४ मंसिर २०७८, शनिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, मंसिर ४ –
भरतपुरमा अटोल्याण्ड (अटो भिलेज) बनाउने भन्ने कुरा चलेको पनि थुप्रै वर्ष भइसकेको छ । व्यावसायीहरुले अटोल्याण्ड बनाउन भरतपुर महानगरसँग पटकपटक माग पनि गर्दै आएका छन् । अटोल्याण्ड बनाउनु भनेको बजारमा अव्यवस्थितरुपमा छरिएर रहेका वर्कशप र ग्यारेजलाई एकत्रित गरी एकै ठाउँमा ल्याउनु हो ।

अहिले भरतपुर महानगरले वडा नम्बर ३ को नारायणी नदी किनार (नगरवन क्षेत्र) मा अटोल्याण्ड बनाउने योजना बनाएको छ । भरतपुर महानगरका प्रवक्ता एवम् अटोल्याण्ड व्यवस्थापन समिति चितवनका सदस्य अरुणपीडित भण्डारीले नदी किनार क्षेत्रमा ३५ बिघा जग्गामा अटोल्याण्ड बनाउने गरी विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर) तयार भइसकेको जानकारी दिए । ८ महिनाअघि डिपिआर बनेको बताउँदै प्रवक्ता भण्डारीले अब छिट्टै काम सुरु गरिने जानकारी दिए ।

अटोल्याण्ड व्यवस्थापन समिति चितवनवनमा अटो मेकिनक व्यवसायी संघ चितवन र चितवन अटो मोबाइल्सल एशोसियसनका तर्फबाट प्रतिनिधित्व गर्दै संयोजन गरिरहेका बलराम भण्डारीले अटोल्याण्ड बनाउन ईआईएको प्रक्रिया अगाडि बढेको बताए । चितवन अटो मेकानिकल्स व्यावसायी संघ चितवनका पूर्वअध्यक्ष समेत रहेका बलराम भण्डारीले करिब २ अर्ब ८० करोड रुपैयाँको लागत अनुमान गरिएको जानकारी दिए । उनले त्यसभित्र नारायणी तटबन्धन समेत रहेको बताए ।

अटोल्याण्ड बनेपछि अटोमोबाइल सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट उपलब्ध हुने छ । यातायातका सम्पूर्ण सवारी साधन मर्मत गर्ने वर्कशपहरु एकै ठाउँमा रहेर सेवा प्रदान गर्नेछन् । जसले गर्दा सहरको वातावरण सफा राख्न र जथाभावी खुलेका वर्कशप तथा ग्यारेजहरुलाई एकत्रित गर्न सहज हुनेछ ।

नेपाल अटो मेकानिकल्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एवम् चितवन शाखाका पूर्वअध्यक्ष गोपाल भट्टराईले भरतपुरमा अटोल्याण्डको आवश्यकता महशुस गरेर आफूहरुले ०६४ सालदेखि नै यसको माग गर्दै आएको बताए । उनले भरतपुर महानगर बनेपछि महानगरले बल्ल यसको आवश्यकता महशुस गरेको बताए । भट्टराईले देशका प्रमुख सहरहरुमा अटो भिलेज बनाउन आफूहरुको माग रहेको बताए । उनले यो माग २० वर्ष अघिदेखिको भए पनि सरकारले यसलाई त्यति प्राथमिकतामा नराखेको गुनासो गरे ।

बुटवलमा, दाङको तुलसिपुर र घोराहीमा अटो भिलेज बनिसकेको उनले जनाए । अटो भिलेज भएपछि त्यहाँका व्यवसायी र ग्राहकले सुविधा पाएका छन् । ‘अटोल्याण्ड बनेपछि यातायात व्यावसायीलाई हुने फाइदामा सर्वप्रथम व्यावसायीको स्थायित्व हो । उसले व्यावसाय कहिले कता ? कहिले कता सार्न परेन’ उनले भने ।

अव्यवस्थितरुपमा बजारको बीचमा रहेका वर्कशपबाट उत्पादन हुने फोहोर र ध्वनी प्रदूषणले बजारलाई कुरुप बनाइरहेकाले त्यो एकै ठाउँमा व्यवस्थित भएपछि यो समस्या हट्ने छ । यदि कसैले आफ्नो जग्गामा व्यवस्थित तवरले वर्कशप चलाउँछ भने उसले जहाँ पनि वर्कशप सञ्चालन गर्न पाउने वरिष्ठ उपाध्यक्ष भट्टराईको भनाइ छ । अरुलाई अप्ठ्यारो हुने गरी सञ्चालनमा रहेका वर्कशपहरुलाई मात्र अटोल्याण्डमा ल्याइने भएकाले सबै नगरवासी र व्यवसायीलाई यस कार्यमा सहयोग गर्न उनले आग्रह गरेका छन् ।

यस्तै अटोल्याण्ड भएपछि त्यहाँबाट दक्ष जनशक्ति पनि उत्पादन हुने वरिष्ठ उपाध्यक्ष भट्टराईले बताए । अटोल्याण्डमा आएर काम सिकेर मानिस स्वरोजगार बन्न सक्नेछन् । वरिष्ठ उपाध्यक्ष भट्टराईले भरतपुर महानगरले उपलब्ध गराउन खोजेका नारायणी नदी किनार क्षेत्र तटबन्धन नभएसम्म सुरक्षित नहुने बताए ।

‘नारायणीमा ठूलो तटबन्धन नभइ काम छैन । अहिले जहाँ जग्गा दिने भनेको छ । त्यहाँ यस वर्ष बाढी पसेको थियो’ उनले भने, ‘तटबन्धनसहित बाटोघाटो र पानी पु¥याएर महानगरले जग्गा हस्तानान्तरण गर्नुपर्छ । त्यसपछि व्यावसायी आफैले भवन बनाउँछन् ।’

अटोल्याण्ड बनेपछि महानगरलाई पनि फाइदैफाइदा हुने उनको भनाइ छ । ‘हामीले जग्गाको भाडा महानगरलाई तिर्छाैं । महानगलाई फाइदैफाइदा छ । सहर पनि सुन्दर हुन्छ’ उनले भने ।

चितवन अटो मोबाइल्स एशोसियसनका पूर्वअध्यक्ष शिवराज गिरीले भरतपुरमा अटोल्याण्डका आवश्यकता रहेको बताए । उनले बजार पृथकीकरण सिद्धान्तअनुसार अटोल्याण्डको अवधारणा ल्याइएको बताए । उनले मर्मत गर्न लामो समय लाग्ने सवारी साधन तथा वर्कशपलाई ल्याण्डमा ल्याउन आवश्यक रहेको बताए । सामान्य मर्मत तथा एकैदिनमा सम्पन्न हुने कामहरु भने ठाउँठाउँमा राख्न सकिने उनको भनाइ छ ।

‘दुई प्राङ्ग्रे बाहेकका सवारी साधन जसको मर्मत गर्न समय पनि लाग्छ र स्थान पनि धेरै चाहिन्छ । उनीहरु ल्याण्डमा आउन आवश्यक छ । यस्तै पेन्टिङ्गका काम गर्ने सवारी पनि ल्याण्डमा आउँछन्’ उनले भने, ‘तत्काल समान्य मर्मत गर्ने वर्कशपहरु व्यवस्थित तवरले जहाँ पनि हुन्छन् । किनकी उपभोक्ताको दृष्टिकोणबाट पनि ठाउँठाउँमा वर्कशप हुनु राम्रो हो ।’ अटोल्याण्डमा स्वस्थ प्रतिस्पर्धा हुने हुँदा उपभोक्ताहर ठगिनबाट पनि बच्ने गिरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>