Breaking News
माधव नेपालको व्यङग्यः एमालेले जनता नपाएर गैंडालाई झण्डा बोकायो (भिडियो)

चितवन, मंसिर ३–
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेकपा (एमाले)को दशौं महाधिवेशनलाई लिएर व्यङग्य गरेका छन् ।
चितवनको भरतपुरमा शुक्रबार दिउँसो जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जनता नपाएर एमालेले क्रान्तिकारी झण्डा दुर्लभ एक सिंगे गैंडालाई बोकाएको व्यङग्य गरे । ‘त्यो एमालेको झण्डा कसले बोकेको छ ? त्यो मजदुर किसानले बोकेका छैन, माक्सले त त्यो क्रान्तिकारी रातो झण्डा मजदुर किसानलाई बोक्न भन्नु भएको थियो तर यहाँ त मान्छे नपाएर गैंडालाई बोकाई दिए’–अध्यक्ष नेपालले भने ।
उनले थपे–‘एमालेको राम्रो लक्षण देखिदैन, त्यस कारण केपी ओली नेतृत्वको एमाले पतन हुने निश्चित छ ।’
अध्यक्ष नेपालले गल्ती विचार दिएमा ती चिज हराउँदै जाने भन्दै अहिले त्यस्तै अवस्थामा एमालेको हालत पुगेको बताए । ‘एमालेको हालत पतनको अवस्थामा छ, कसैले बचाउने वाला छैन’–उनले भने । यस्तै अध्यक्ष नेपालले आगामि निर्वाचनमा एमालेलाई धुलो पार्ने चेतावनी समेत दिए । त्यसको एउटा संकेत राष्ट्रिय सभाको निर्वाचनले देखाएको भन्दै एमाले सकिने अवस्थामा पुगेको बताए । ‘आउने निर्वाचनमा एमालेलाई अलि अलि हैन, धुलो पार्छौ, हेर्दै गए हुन्छ’–आक्रोश पोख्दै नेपालले भने ।
अध्यक्ष नेपालले पार्टीको भविष्य राम्रो भएको भन्दै आगामि निर्वाचनमा कलम चिन्हले बलियो प्रतिनिधित्व गर्ने दावी गरे । कार्यक्रममा अध्यक्ष नेपालले एमाले परित्याग गरेका युवाहरुलाई पार्टी प्रवेश गराएका थिए । यस्तै कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाललगायतले मन्तव्य व्यक्त गर्दै एमालेप्रति आक्रोश पोखेका थिए ।
हतार हतारमा काठमाडौंबाट चितवन आइपुगेका नेपाल भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनपछि हाकिम चोक अवस्थित पार्टी कार्यालयको उद्घाटन गर्न पुगेका थिए । उनले त्यहाँ पार्टीका एक युवा नेताको केक काटेर जन्मदिन मनाउन भ्याए । लगत्तै पार्टीको प्रशिक्षण सहभागि भएर काठमाडौँ फर्किएका छन् ।
यसअघि भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले आफूहरुलाई एमालेको महाधिवेशनमा पाहुना बन्न आवश्यक नरहेको प्रतिक्रिया दिएका थिए । चितवनमा हुँदै गरेको नेकपा (एमाले)को महाधिवेशनमा नेकपा (एस)लाई नबोलाउने भन्ने कुरा छ नी भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यो आफ्नो चरित्रलाई आफै उजागर गर्ने काम भएको बताए । आफूहरुलाई महाधिवेशनमा कसैको पाहुना बन्न आवश्यक नरहेको बताउँदै उनले भने, ‘हामी आफ्नै काम र धुनमा व्यस्त छौं ।’
उनले नेकपा एमाले अब इतिहासको विषय बन्ने बताउँदै नेकपा एस उदाउँदै जाने दाबी गरे ।
अहिले आफूहरुको एजेण्डा पार्टी बनाउनेतर्फ रहेको उनले बताए । उनले भने, ‘नेकपा एसको नाम सुन्ने बित्तिकै धेरै मान्छे डराउन थालेका छन् । किनकी सारा जनता र पार्टीको ध्यान यो पार्टीमा परेको छ । यो पार्टीको विकास देखेर धेरैमा ईष्र्या पलाएको छ ।’
उनले नेकपा एसले अबको निर्वाचनमा सबैतिर जित्ने पनि दाबी गरेका छन् । न्यायालयको विवादका बारेमा बोल्दै नेपालले यस विषयमा प्रधानमन्त्री र राजनैतिक दलले पनि एउटा निष्कर्ष निकाल्नुपर्ने बताए ।
























