चितवन विशेष
भरतपुरको सप्तगण्डकी क्याम्पसमा स्वास्थ्य शिविर, ५० जनाले गरे स्वास्थ्य परीक्षण

चितवन, मंसिर २-
सप्तगण्डकी बहुमुखी क्याम्पसको ३३ औँ वार्षिक उत्सवको अवसरमा स्वस्थ्य शिविर गरिएको छ ।
क्याम्पसले आज (बिहीबार) आफ्नै परिसरमा क्याम्पसका प्रध्यापक तथा कर्मचारीको लागि स्वास्थ्य शिविर गरेको हो । क्याम्पसको आयोजना तथा भरतपुर सामुदायिक अस्पतालको सहयोगमा भएको शिविरमा ५० जना प्राध्यापक तथा कर्मचारीले स्वास्थ्य परीक्षण गरेका छन् ।
शिविरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले स्वास्थ्य परीक्षण गरेर शिविरको उद्घाटन गरेका थिए । स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख मणिराज महतोले भविष्यमा पनि भरतपुर सामुदायिक अस्पताल र सप्तगण्डकी क्याम्पसबीच यसप्रकारको समन्वय र सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने विचार राखे । कार्यक्रममा भरतपुर सामुदायिक अस्पताल प्रा.लिका निर्देशक दिपेन्द्र वास्तोलाले अबको एक हप्तासम्म क्याम्पसका प्राध्यापक तथा कर्मचारीलाई ओपीडी सेवा निःशुल्क गरिएको बताए । उनले प्रयोगशाला शुल्कमा पनि छुट दिइने बताए ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थी, प्राध्यापक तथा कार्मचारीहरुले क्याम्पस परिसरमा सरसफाइ पनि गरेका थिए । त्यस्तै बीए पहिलो तथा द्रोस्रो वर्षमा अध्ययनरत आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुले भने क्याम्पस प्रमुख मणिराज महतोको हातबाट केक काटेर क्याम्पसको ३३ औं जन्मदिन मनाएका छन् ।

























