Breaking News
यु १९ बागमती प्रदेश छनोटः चितवन फाइनलमा प्रवेश

चितवन, मंसिर १–
नुवाकोटलाई पराजित गर्दै काठमाडौँमा जारी यु–१९ बागमती प्रदेश छनोट प्रतियोगितामा चितवन फाइनलमा प्रवेश गरेको छ । आज (बुधबार) भएको सेमीफाइनल खेलमा नुवाकोटलाई १७ रनले पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको हो ।
मुलपानी मैदानमा भएको खेलमा २३५ रनको लक्ष्य पछ्याएको नुवाकोट निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै २१७ रन मात्रै बनाउन सक्यो । नुवाकोटका लागि अशोक पौडेलले अविजित ८२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । ६० बल खेलेका पौडेलले १० चौका र एक छक्का प्रहार गरे । आयुष बस्नेतले ४७ रन बनाए । ८७ बल खेलेका बस्नेतले ७ चौका र एक छक्का प्रहार गरे । अमृत थापाले २८, दिनेश सुवेदीले १६ रन रन बनाए ।
चितवनका लागि प्रशान्त महतले ८ ओभरमा ३७ रन खर्चिदै ३ विकेट लिए । कप्तान गौतम केसी र प्रतिक श्रेष्ठले एक÷एक विकेट लिए । नुवाकोटका एक खेलाडीलाई रोबिन तिमिल्सिनाले रनआउट पारे ।
यसअघि पहिले व्याटिङ गर्दै चितवनले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै २३४ रन बनाएको थियो । सुजन चापागाईले ५७ रनको अर्धशतकीय पारी खेले । ७२ बल खेलेका चापागाईले ७ चौका प्रहार गरे ।
ओपनर सुर्यान्सु कोइरालाले २२, प्रशान्त महतले ३१, रोबिन तिमिल्सनाले २५, कृजन गुरुङले २४, विशाल यादवले १६ रन बनाए । यस्तै अजित भण्डारी ७, प्रतिक श्रेष्ठ ७, स्वप्निल सिंह अधिकारीले ५, गौतम केसीले एक रन बनाए ।
नुवाकोटका लागि आयुष बस्नेतले ३, हैदर अलि र रोशन विश्वकर्माले २, अमृत थापाले एक विकेट लिए ।
























