Breaking News

कारवाही फुकुवा नभए पनि कांग्रेसकै राजनीतिमा सक्रिय छु, मेरो प्रभाव कायमै छ: विकास कोइराला (अन्तरवार्ता)

Banner

चितवन, मंसिर १–

नेपाली कांग्रेस १४औं महाधिवेशनको संघारमा छ । चितवनमा पनि कांग्रेस अधिवेशनले राजनीतिक माहोल तताएको छ ।

चितवनमा जिल्ला नेतृत्त सम्हाल्न खोज्नेहरुको सूची लामै छ । यस्तैमा नेपाली कांग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले जो नेतृत्वमा आए पनि असल व्यक्ति नेतृत्वमा आउनु पर्ने बताउँछन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा तत्कालिन पार्टी सभापति शुशील कोइरालासंग बागी उम्मेद्वारी दिएपछि जिल्ला नेता विकास कोइरालालाई पार्टीले कारवाही ग¥यो । कांग्रेसको विधानत कारवाहीमा परेको ६ वर्षपछि स्वतः फुकुवा हुन्छ । तर कोइारालालाई गरिएको कारवाही भने अझै फुकुवा हुन सकेको छैन । पार्टी कारबाहीमा परेपनि जिल्लामा उनको राजनीतिक प्रभाव भने अझै पनि कायमै छ । यही सन्दर्भमा रहेर विकास कोइरालासँग नारायणी अनलाइन गरेको कुराकानीको सम्पादित अंश ।

१. नेपाली कांग्रेसले कारबाही गरेको ८ वर्ष बितिसक्दा पनि कारबाही फुकुवा गरेको छैन । किन होला ?

–नेपाली कांग्रेसले ८ वर्ष अघि मलाई कारबाही ग¥यो । २०७० सालमा सुशील कोइरालाविरुद्ध उम्मेद्वारी दिएकाले कारबाही भोगेँ । प्राविधिक रुपमा मैले गल्ती गरेको हुँ ।
पार्टीको आधिकारिक उम्मेद्वारविरुद्ध चुनाव लड्नेलाई कांग्रेसको विधानत ६ वर्षमा कारबाही स्वतः फुकुवा हुनुपर्ने हो । त्यही बेला विभिन्न जिल्लामा बागी उम्मेद्वारी दिनेहरुको कारवाहीको फुकुवा भयो । तर मेरो भएन । पार्टीमा सबैलाई एउटै व्यवहार हुनुपर्छ भन्ने मेरो भनाई हो । पहिलेदेखि मैले पार्टीमा गरेको लगानीको निरन्तरता हुनुपर्छ । मेरो क्रियाशिलता नविकरण हुनुपर्छ । तर पार्टीका नेतृत्वले त्यो चाहेनन् ।
मैले एकपटक नेतृत्वहरुसँग कुरा राखेँ । तर विश्वासको वातावरण सिर्जना भएन । म कुनै समूहमा लागिन । राम्रो प्रणाली पार्टीभित्र बस्नुपर्छ भनेर लागेँ । पार्टीको कारिन्दा भइयो नेताका भइएन । त्यसैले पनि मलाई नेतृत्वले नचाहेको हुन सक्छ ।

२. तपाईंलाई आफूले के गल्ती गरेको जस्तो लाग्छ । जसले गर्दा आफूमाथि नै यस्तो भइरहेको छ भन्ने लागेको छ ।
–मैले आधिकारिक उम्मेद्वारकाविरुद्द चुनाव लडेपछि त्यो प्राविधिकरुपमा गल्ती त भैहाल्यो । मलाई हुन्छ, सजाय पाउँछु भोग्छु भन्ने थाहा थियोे । तर पार्टीका लागि त्यो भोग्न तयार हुन्छु भनेर आँट गरेँ । बीचको समयमा मलाई एकपटक बेलाइयो । गत महाधिवेशनको बेलामा । तर नेताभन्दा पनि पार्टी भनेर लाग्छु भन्दा मलाई कारबाही फुकुवा गरेनन् । हालसम्म हरेक गतिविधिमा म कौंग्रेसकै सहयोगी भएर बसेको छु । अन्य पार्टीमा गएको छैन । भोट पनि रुखमै हालिरहेको छु । पार्टी अन्र्तघात गर्नेहरु छन् तर मैले अन्र्तघात गरेको होइन । विद्रोह गरेको हो । विद्रोह त्यो समयमा थियो । अहिले अब मेरो क्रियाशिलता निरन्तर हुनपर्छ ।

३. तपाईंलाई पार्टीले कारबाही गरे पनि कांग्रेस चितवनमा अझै पनि विकास कोइरालाको प्रभाव पर्छ भन्ने चर्चा छ नी ?
–प्रभाव त रहिरहँदो रहेछ । मान्छेको क्रियाशिलता भावना, मित्रता, व्यवहारलाई मान्छेले सम्झिँदो रहेछ । सिद्धान्तभन्दा पनि मान्छेको आचरणले प्रभाव पार्दाे रहेछ । सिद्दान्त त बाहिर आवरणमा मात्र देखिन थाल्यो । सिद्धान्तअनुसार त कोही चलेकै छैन । व्यवहारबाट आकर्षित हुने हुन् । मेरो व्यवहारलाई साथीहरुले सम्झिनु स्वभाविक हो । मैले पार्टीबाट पूर्णरुपमा नाता ताडेर गाएको त छैन नी । मैले पनि पहिला धेरैलाई पार्टीमै रहिराख पार्टीमै बसेर काम गर भनेको छु त । त्यसैले पछिल्लो समय पार्टीका सदस्यहरुसँगको सम्बन्ध झन् प्रगाढ बन्दै गएको आभाष भएको छ ।

४. तपाईंको पार्टीभित्र त प्रभाव बढ्दो छ । तर जिल्ला नेतृत्वले तपाईंलाई पूर्व सभापति भन्न किन न रुचाएको होला ?
–भन्छन् पनि । भनेका पनि छन् । नभन्ने कुरा पनि छैन । व्यक्तिगत रुपमा भेट्दा खेरीमा त भनेकै छन् । जिल्ला नेताहरु, पूर्वसभापतिहरुसँग भेट्दै गर्दा अर्थात पार्टीका आधिकारिक निकायमा भएका साथीहरुसँग भेट्दा पूर्व सभापति जय नेपाल भन्छन् । पूर्व सभापतिकै हिसाबले जय नेपाल भै राखेको छ । तर आधिकारिक कार्यक्रममा मेरो सहाभगिता चाहीँ छैन । किनभन्दा पार्टीभित्र मेरो व्यक्तिगत लडाइ, माग त छँदै छ नी । त्यो त मेरो निरन्तर रहिराख्छ । जहिलेसम्म परिणाम आउँदैन त्यो बेलासम्म लडिरहन्छु । म प्रत्यक्ष संलग्न हुन नपाए पनि मैले मेरो साथीहरुलाई पार्टीमा स्थापित गरेर आफ्नो माग पूरा गर्न अभियान सञ्चालन गर्नतर्फ लाग्छु । त्यसको लागि शक्ति सञ्चय गरिराखेको छु । म त्यत्तिकै छाडेर बस्दिन । कांग्रेसको क्रियाशिल सदस्य दिएनन् भने पनि म आफ्नो कुरा राख्न छाड्दिन । म जीवन रहेसम्म लाग्छु ।

५. जिल्ला नेतृत्वले पनि तपाईंलाई पार्टीमा ल्याउन पहल नगरेको हो त ?
–जिल्ला अनुकुलका नेतासँग म मिल्न नसक्ने देखेर हाम्रो पक्षमा आउदैन की भन्ने डर होला । मेरो आफ्नै उम्मेद्वारी आउला भन्ने डर पनि भयो होला । हामीले अवसर पाउँदैनौ की भन्ने डर होला । विकास कोइराला फेरि स्थापित हुन सक्छ भन्ने उनीहरुलाई थाहा छ । त्यसले मैले कसलाई समर्थन गर्छु भन्ने थाहा नभएकाले पनि डराएका होलान ।

६. क्रियाशिल सदस्यता नपाए अन्य पार्टी प्रवेश गर्ने संभावना रहन्छ की रहदैन ?
–छैन । म प्रवेश गर्ने भएको भए त गरिसक्थेँ । मलाई विभिन्न अवसर त दिन्थे होला नी । मलाई अरु पार्टीका मान्छेले हाम्रो पार्टीमा आउन प¥यो भनेर आँट पनि गर्दैनन् । मैले कांग्रेस छाड्दिन भन्ने उनीहरुले बुझेका छन् राम्रोसँग । म अरु पार्टीमा जाँदै जान्न । यत्रो लगानी, जीवन साथीभाइ कांग्रेसमा छन् म कांग्रेस छाडेर किन जाने ? के कारणले जाने ? फेरि म अवसरवादी पनि होइन । अवसरका लागि जे पनि गर्दिने । विभिन्न पार्टी छाडेर आउने, जाने यस्ता खाले काम म गर्दिन । अवसरवादी सोच पनि छैन मेरो । मलाई त्यत्रो लोभ पनि छैन । लडाई पो लड्या छु त सैद्धान्तिकरुपमा, मेरो मुद्दामा लडाईं पो छ त । मैले कुनै पद पाइन भन्या त छैन नी । मेरो माग पूरा भयो भने म पदमा बस्नुपर्छ भन्ने छ र ? छैन नी । पार्टीमा सबैलाई समान व्यवहार हुनप¥यो ।

७. आसन्न निर्वाचनमा स्थानीय, प्रदेश र संघकोमा विकास कोइरालाले छुट्टै संयन्त्र बनाएर चुनाव लड्ने संभावना छ की छैन ?
–अब हेरौं । त्यस्तो परस्थिति नआउला । असल व्यक्ति, सबैले रुचाउने व्यक्तिले टिकट पाउनुपर्छ भन्ने भावना होला । तर अब छुट्टै पार्टी निर्माण गरेर, समूह निर्माण गरेर पार्टीको निर्णयको विरुद्धमा लाग्ने भए त अघिल्लो निर्वाचनमा लागि सक्थेँ नी । सुशील कोइरालाले ७० सालमा जित्नुभयो । ७४ सालको अर्काे चुनावमा लडथेँ होला । लड्ने भए त फेरि समूह बनाउँथे होला । एउटा लडाई लडेको त्यो मेरो पार्टीभित्रकै लडाइ हो । हेर्दा अलिकति फरक देखिएको छ । अलिकति बाहिर निस्केर लडेको मात्र हुँ । तर लडाइ पार्टी भित्रकै हो मेरो । अहिले पनि पार्टीभित्रकै लडाइ हुन्छ मेरो । म भित्रै छु । प्राविधिकरुपमा पात्र भित्र नभएको हुँ । क्रियाशिल सदस्यता नभएको भन्ने कुरा न हो । क्रियाशिलभन्दा बाहिरका मान्छेको पनि पार्टी हो कांग्रेस । बाहिर भएकालाई कांग्रेसका शुभेच्छुकलाई कांग्रेस होइन भन्न पाइन्छ र ? कांग्रेस नेता र क्रियाशिलको मात्र पार्टी होइन । कांग्रेसलाई मान्ने जति सबैको पार्टी हो । मलाई कांग्रेसको अधिवेशनमा चलखेल ग¥यो भन्छन् । तर असल नेतृत्व आइदियोस भन्ने चाहना त सबैको हुन्छ नी । कांग्रेसमा असल नेतृत्व आओस् भन्ने चाहना त वामपन्थीको पनि हुन्छ नी । म यही पार्टीमा छु । अब यसलाई चलखेल भन्न मिल्छ । नेता र क्रियाशलिको मात्र नभइ सबै जनताको कांग्रेस बनाउन यो उम्मेद्वारले जितिदिए हुन्थ्यो भन्ने मेरा भावना हो ।

८. कांग्रेसभित्र तपाईको लडाई अब कहिलेसम्म ?
–कांग्रेसको हरेक गतिविधिमा निरन्तर रहने कुरा छँदै छ । मेरो मुद्दालाई संबोधन हुने कुरा, मेरो क्रियाशिललाई निरन्तरता गर्ने कुरा त मेरो हातमा त छैन नी । नयाँ नेतृत्व आउलान् अब । मेरो मागलाई संबोधन हुनुपर्छ भन्ने कुरा रहिराख्छ मेरो । मेरो मुद्धा सम्बोधन नभएसम्म मेरो लडाई जारी नै रहन्छ ।

९. तपाईंले चितवनको राजनीतिलाई कसरी नियाल्नु भएको छ । पार्टी भित्र र बाहिर दुबैको राजनीतिलाई ?
–चितवनमा बेथितिकै राजनीति देख्छु मैले । संगालिएको राजनीति छैन । यो भनेको के भने अन्यअन्य दलसँग पार्टीको सम्बन्ध, सबै कुराको सम्बन्धमा पनि तितक्ता देख्छु । हार्दिकता देख्दिन । एउटै पार्टीमा पनि धेरै ठूलो हार्दिकता देख्दिन मैले । पार्टीमा मुल नेतृत्व नभएर होकी । सबैले मान्ने खालको नेतृत्व नभएर होकी । विश्वासको वातावरण छैन एकअर्काबीच ।
अधिवेशनमा पनि समूह–समूहबीच गठबन्धन हुन्छन् । तर कसैले कसैलाई विश्वास गरेको देखिँदैन । कोही कहिले कता देखिन्छन् । कहिले कता देखिन्छन् । मिल्ने भनेपछि मिल्न पर्छ । इमान्दार हुनपर्छ ।
त्यसैले मिल्या पनि देखिँदैन । सबै आफै–आफै स्वतन्त्ररुपमा लडौं भन्ने पनि देखिँदैन । त्यसैले सबैले आ–आफ्नो दाउमात्र हेरेको देखिन्छ ।

१०. चितवनका कांग्रेस पुनः अर्काे पार्टीसँग गठबन्धन चाहेका छन् की छैनन् । के पाउनु भएको छ ?
–पहिला गठबन्धन हुँदा पनि चितवनका कांग्रेस सन्तुष्ट थिएन । चितवनमा कांग्रेस कमजोर नभएकाले गठबन्धनबिनै चुनाव लड्नुपर्छ । चितवनका नेता, कार्यकर्ता, शुभेच्छुकको भावना बुझ्दा गबन्धन रुचाएको देखिँदैन । उनीहरुले रुखमै भोट हाल्न चाहेका छन् । विशेष गरी तीन नम्बर क्षेत्रका कांग्रेसहरुले गत निर्वाचनमा रुखमा भोटै हाल्न पाइएन भनेर असन्तुष्ट जनाएका छन् । गठबन्धन गर्न हुन्न भन्ने चितवनको कुरा छ तर गर्ने नगर्ने कुरा केन्द्रको हुन्छ । राष्ट्रिय राजनीतिको कुरा होला । अब सरकारै गठबन्धनको छ । चुनावमा गठबन्धन गर्ने नै भए चितवनमा चाहीँ नगर्नुस भन्नु पर्ने अवस्था छ ।
नेपालको राजनीति त फोहोरी भएको छ । सफा त म देख्दिन । यहाँ जे पनि हुन सक्छ । हिजो एउटा कुरा बोलेछन् । आज एउटा कुरा बोल्छन् । तपाईंले हिजो यस्तो बोल्नु भएको होइन भन्दा त्यो हिजोको परिस्थतिअनुसार बोलेको हुँ भन्या भाछ । नेताहरुको मात्र के कुरा गर्नु जनता पनि उस्तै छौं । सबै जनता राजनीतिमा छौं । यहाँ राजनीति नगर्ने कोही छैन । त्यसैले सबै राजनीतिमा भएपछि सफा नभएको अवस्थामा धमिलिएको अवस्थामा जे पनि हुन सक्छ ।

११. अन्त्यमा । अब तपाईंको राजनीतिक यात्र कसरी अघि बढ्छ ?
–अहिले महाधिवेशन केन्द्रित नै हुन्छ । देशभरका साथीहरुसँग मेरो सम्बन्ध छ । सम्पर्क छ । हिजो नेविसंघको केन्द्रीय सभापतिको पनि चुनाव लडेको हुँ । हिजो मलाई भोट हाल्ने भाईहरु छन् । साथीहरु छन् । तिनीहरुमा महाधिवेशन प्रतिनिधि को–कहाँबाट आएका छन् । म अपडेटमा छु । जिल्लामा पनि अपडेट छु । म अहिले यसमै केन्द्रित छु ।
यो अधिवेशन सकिएपछि केन्द्रीय महाधिवेशनमा मेरा केही न केही भूमिका रहन्छ । म बाहिर हुँदा पनि । महाधिवेशन प्रतिनिधि नभए पनि केही न केही मेरो उपस्थिति रहन्छ । देखिएर सहयोग रहन्छ । त्यो उपस्थितिले पनि भोलिको मेरो राजनीतिक भविष्य कता जाने भन्ने कुरा निर्धारण गर्छ । राजनीति भनेको त लामो यात्रा हो नी त । म सँधै भरी राजनीतिमै रहन्छु । कांग्रेसको राजनीतिको वरीपरी नै रिंगिराको हुन्छु । जीवन यसमै व्यतित हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>