चितवन विशेष
चितवनमा होटल व्यवस्थापनका अग्रज प्राध्यापक पाण्डेको निधन

चितवन, कात्तिक २९-
चितवनका विभिन्न कलेजमा होटल व्यवस्थापन पढाउँदै आएका अग्रज प्राध्यापक आनन्द पाण्डेको निधन भएको छ ।
उच्च रक्तचापले मस्तिष्कघात भई काठमाडौँको मेडिसिटी अस्पतालमा उपचाररत ४१ वर्षीय पाण्डेको आइतबार निधन भएको हो ।
२०६३ सालतिरबाट नारायणी पब्लिक कलेजबाट चितवनमा होटल व्यवस्थापन पढाउन थालेका पाण्डे क्षेत्रपुरको एपेक्स कलेजमा प्लस टु कोअर्डिनेटर भएर काम गर्दै आएका थिए । धनुषा जिल्लामा जन्मिएका पाण्डे भरतपुर महानगरपालिका–११ नहरचोक नजिकै बस्दै आएका थिए ।
पाण्डेका साथी होटल व्यवस्थापन विषयका सप्तगण्डकी क्याम्पसका प्राध्यापक रविन्द्र बुढाथोकीले पाण्डे चितवन जिल्लाकै अग्रज प्राध्यापक भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ पाण्डेले पूर्व चितवनको इन्टरनेशनल कलेजसहित धेरै कलेजहरुमा सैद्धान्तिक र व्यवहारिकरुपमा हजारौ विद्यार्थीलाई होटल व्यवस्थापनबारे ज्ञान दिए ।’ पाण्डेले पोखराको नेपाल टुरिजम एण्ड होटल व्यवस्थापन कलेजबाट होटल व्यवस्थापनमा स्नातक गरेपछि चितवनमा प्राध्यापन गर्न सुरु गरेका हुन् । पाण्डेको शवलाई जनकपुरमा आज अन्तिम संस्कार गरिएको छ । स्वर्गीय पाण्डेको एक श्रीमती र दुई छोरा रहेका छन् ।
























