Breaking News
अष्ट्रेलिया बन्यो टि–२० विश्वकपको नयाँ च्याम्पियन

काठमाडौँ, कात्तिक २८–
आइसीसी टि–२० विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार राति दुबई इन्टरनेशनल स्टेडियममा भएको फाइनलमा न्यूजील्याण्डलाई ८ विकेटलाई पराजित गर्दै अष्ट्रेलिया पहिलोपटक टि–२० विश्वकप च्याम्पियन बनेको हो ।
उपाधिका लागि न्यूजील्याण्डले दिएको १७३ रनको लक्ष्य अष्ट्रेलियाले १८.५ ओभरमा मात्र २ विकेटको क्षतिमा पुरा गर्यो । अष्ट्रेलियाको जितमा मिचेल मार्शले अविजित ७७ रन बनाए । ५० बल खेलेको मार्शले ६ चौका र ४ छक्का प्रहार गरे । ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे । १८ बल खेलेका म्याक्सवेलले ४ चौका र एक छक्का प्रहार गरे ।
ओपनर डेभिड वार्नर ५३ रनमा ट्रेन्ट बोल्टको बलमा बोल्ड आउट भए । ३८ बल खेलेका वार्नरले ४ चौका र ३ छक्का प्रहार गरे । कप्तान आरोन फिन्च ५ रनमा बोल्टको बलमा क्याचआउट हुन पुगे । १५ रनमै कप्तान फिन्चलाई पहिलो विकेटको रुपमा गुमाएको अष्ट्रेलियाले दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरेको थियो । वार्नर र मार्शले ९२ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई बलियो अवस्थामा पुर्याएको थियो । अन्तिममा मार्श र ग्लेन म्याक्सवेलले ६६ रनको अविजित साझेदारी गर्दै अष्ट्रेलियालाई पहिलो टि–२० विश्वकपको उपाधि दिलायो ।
न्यूजील्याण्डका लागि ४ ओभरमा १८ रन खर्चिदै २ विकेट लिए । ईश सोधी महंगो सावित हुँदै ३ ओभरमा ४० रन खर्चिदै विकेट विहीन रहे । टिम साउथी ३.५ ओभरमा ४३ रन खर्चिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको न्यूजील्याण्डले ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । उसका लागि केन विलियमसनले ८५ रनको अर्धशतकिय पारी खेले । ४८ बल खेलेका विलियमसनले १० चौका र ३ छक्का प्रहार गरे । उनी जोश हेजलवुडको बलमा क्याचआउट हुन पुगे । मार्टिन गुप्टिल ३५ बलमा २८ रन बनाएर एडम जाम्पाको बलमा क्याचआउट भए । उनले ३ चौका मात्रै प्रहार गरे । ग्लेन फिलिप्सले १८, जेम्स निशमले ७ बलमा १३ रन, डेरिल मिचेलले ८ बलमा ११ रन बनाए भने टिम सेफर्ट ६ बलमा ८ रन बनाए ।
अष्ट्रेलियाका लागि जोश हेजलवुडले ४ ओभरमा १३ रन खर्चिदै महत्वपूर्ण ३ विकेट लिए भने एडम जाम्पाले ४ ओभरमा २६ रन खर्चिदै एक विकेट लिए । २८ रनमा पहिलो विकेटको रुपमा डेरिल मिचेललाई गुमाएको न्यूजील्याण्डले ६१ रनको साझेदारी गर्दै टिमलाई उकासेको थियो ।
























