चितवन विशेष
विश्व मधुमेह दिवस: दैनिक २८ जनाको मृत्यु, चितवनमा अन्य जिल्लाको भन्दा धेरै बिरामी

चितवन, कात्तिक २८-
चितवनसहित नेपालमा मधुमेहका कारण दैनिक सरदर २८ जनाको मृत्यु हुने गरेको चिकित्सकहरूले बताएका छन् ।
आज भरतपुर अस्पतालमा आयोजित मधुमेहसम्बन्धी सचतेना कार्यक्रममा चिकित्सकहरूले उक्त तथ्यांकको जानकारी गराएका हुन् ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले नेपालमा बर्सेनि १० हजारजनाले मधुमेहका कारण ज्यान गुमाउने गरेको बताए । ‘विश्वको सात अर्ब जनसंख्यामा ४५ करोड मधुमेहका बिरामी छन् । थप ४५ करोडलाई आफूलाई मधुमेह लागेको थाहा नै छैन’ अधिकारीले भने, ‘नेपालमा सातजनामा एकजनामा मधुमेहका रोगी छन् ।’
विश्वमा दक्षिण एसियामा मधुमेहका बिरामीको संख्या र जोखिम बढी रहेको उनले बताए । ‘चीनमा ११ करोड, भारतमा सात करोड जनसंख्यामा मधुमेह छ । नेपाल पनि मधुमेहको उच्च जोखिममा छ’, उनले भने । सो अवसरमा बोल्दै अस्पतालका मेडिकल विभाग प्रमुख डा. प्रकाश खतिवडाले चितवन बसाइँसराइको ‘हब’ भएकोले मधुमेहका बिरामी पनि अरू जिल्लामा भन्दा बढी भएको बताए । एसियामा मधुमेहको ‘राजधानी’ भारत भएको भन्दै यसको सिधा असर नेपालमा परेको उनको भनाइ छ ।
























