Breaking News

सांसदहरु मन्त्री बन्ने व्यवस्था हटाउनुपर्छः माले महासचिव मैनाली

Banner

चितवन, कात्तिक २७–

नेकपा (माले)को आठौं राष्ट्रिय महाधिवेशन शनिबारदेखि चितवनको नारायगाढमा सुरु भएको छ ।

नारायणगढस्थित नारायणी कला मन्दिरमा सुरु भएको महाधिवेशन २९ गतेसम्म चल्ने छ । महाधिवेशनको महासचिव सिपी मैनालीले उद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै महासचिव मैनालीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था ल्याउन माग गर्नुभयो । संवैधानिक राष्ट्रपति राखेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउन प्रणाली परिवर्तन गर्ने बेला आएको उहाँको भनाई थियो ।

उहाँले चुनाव प्रणाली पनि बदल्नुपर्ने भन्दै सांसदहरु मन्त्री बन्ने व्यवस्था पनि हटाउन माग गर्नुभयो । महासचिव मैनालीले भन्नुभयो–‘बेलायती संसदीय व्यवस्था काम नलाग्ने भइसक्यो, अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ ।’ उहाँले एमाले र माओवादीले विगतमा एकता गरेर रत्यौली खेलेको टिप्पणी समेत गर्नुभयो । ‘२०७४ सालमा एमाले–माओवादीले झण्डै दुईतिहाइ ल्याए, सबैले वाह वाह गरे’, उहाँले भन्नुभयो, ‘दुई वर्ष नपुग्दै तमासा देखाउन थाले, दुनियाँ खित्का छाडेर हाँसे, उनीहरुले रत्यौली खेले ।’

उनीहरु नामको मात्रै कम्युनिष्ट भए पनि कम्युनिष्टको सिद्धान्त र नीतिविपरीत हिँडेको उहाँको आरोप थियो । उहाँले नेपालको जनक्रान्तिलाई सफल पारेरै छाडिने दावी गर्दै भन्नुभयो–‘लड्यौ, हार्यों तर हामीले हरेश खाएका छैनौं । ७२ वर्षीय कम्युनिष्ट आन्दोलन जोगाउने छौं ।’
महासचिव मैनालीले अहिलेको पाँच दलीय गठबन्धन विदेश परस्त भएको आरोप समेत लगाउनुभयो । ‘विदेशीको काम गर्न ५ दलको सरकार बनेको हो’, उहाँले भन्नुभयो, ‘त्यसमा अदालतले स्वीकृति दियो, अहिले देउवा एमसीसी जपिरहेका छन् ।’

कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य डम्बर श्रेष्ठले देशमा सच्चा कम्युनिष्ट शक्तिहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो । अखिल नेपाल प्रगतिशील महिला संघकी उपाध्यक्ष तथा पोलिटब्युरो सदस्य भगवती घिमिरेले जनवादी क्रान्ति पूरा गर्न पार्टी संगठन मजबुत बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, कोरियाली श्रमिक पार्टीले महाधिवेशन सफलताको शुभकामना सन्देश पठाएका थिए । महाधिवेशनले कात्तिक २९ गते नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीका आगामि नेतृत्व पनि मैनालीले गर्ने निश्चित बनेको छ । यस्तै महाधिवेशनबाट स्थायी कमिटी, पोलिटव्युरो र विभिन्न विभागहरु गठन गरि घोषणा पत्र जारि गरिने पार्टीका स्थायी कमिटी सदस्य एवंम महाधिवेशन आयोजक मुल समितिका संयोजक दिननाथ घिमिरेले जानकारी दिनुभयो । उद्घाटन समारोहमा पार्टीको आन्दोलनमा योगदान दिने परिवारहरुलाई सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>