Breaking News

सीटीईभीटीको निर्देशनपछि चितवनका पाँच नर्सिङ कलेज संकटमा, १०० शैयाको अस्पताल नभई पढाउन नपाइने

Banner

चितवन, कात्तिक २७-

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को निर्देशनपछि चितवनका पाँच नर्सिङ कलेज संकटमा परेका छन् ।

सीटीईभीटीले १०० शैय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेपछि ती कलेजहरु समस्यामा परेका हुन् ।

परिषद्का अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको थियो । परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीईभीटीले जानकारी दिएको छ ।

आफ्नै १०० शय्याको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ । ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको जनाइएको छ ।

परिषद् मातहतका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन्  । ती २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा आङ्गिक कलेज हुन् । चितवनमा १३ वटा नर्सिङ कलेजमध्ये पाँचवटामा यो मापदण्ड पुगेको छैन । जसमा बालकुमारी कलेज, बोस्टन एकेडमी फर मेडिकल साइन्स, चितवन एकेडेमी फर टेक्निकल एजुकेशन, इन्स्टिच्यूट अफ मेडिकल टेक्नोलोजी, मैयाँदेवी गल्स कलेज रहेका छन् ।

मैयाँदेवी कलेजका प्रमुख विश्व सुवेदीले आफ्नो क्याम्पसमा यो वर्ष नर्सिङ भर्ना लिन नपाउने अवस्था रहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ यो विषयमा कुरा गर्न हामी काठमाडौँ जादैँ छौं । हामीले यो वर्ष भर्ना गर्न पाएनौं ।’ मैयाँदेवी गल्स कलेजले ४० सिटमा नर्सिङ पढाउन थालेको चार वर्ष भएको छ ।

चितवनसहित देशभर पिसिएल नर्सिङ पढाउने ९० भन्दा बढी कलेजको आफ्नै अस्पताल छैनन् । ती कलेजले अब भर्ना लिन नपाउने भएका छन् । ऐनविपरित ती कलेजलाई पनि भर्ना खुलाउने खेल सुरु भएको थियो । तर त्यसको चौतर्फी विरोध भएपछि सरकारले कानुन अनुसार नै अगाडि बढ्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । नेपाल नर्सिङ काउन्सिलको तथ्यांक अनुसार देशभर सञ्चालित एएनएम, पिसिएलदेखि मास्टर्ससम्मका १८९ वटा नर्सिङ कलेजमध्ये ९८ वटा कलेजको आफ्नो अस्पताल छैन । यी कलेजहरुले नै पटक पटक सरकारको निर्णय अटेर गर्दै आएका हुन्।

यी हुन् आफ्नै अस्पताल नभएका चितवनका पाँच कलेज: 

१. बालकुमारी कलेज, चितवन

२.बोस्टन एकेडमी फर मेडिकल साइन्स, चितवन

३.चितवन एकेडेमी फर टेक्निकल एजुकेशन, चितवन
४. इन्स्टिच्यूट अफ मेडिकल टेक्नोलोजी, चितवन
५. मैयाँदेवी गल्स कलेज, चितवन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>