Breaking News
पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टि–२० विश्वकपको फाइनलमा प्रवेश

काठमाडौँ, कात्तिक २५–
पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति दुबईमा सम्पन्न अन्तिम सेमीफाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।
अष्ट्रेलियाको जितमा म्याथ्यू वेड नायक बने । उनले १९ औं ओभरको अन्तिम ३ बलमा ३ छक्का प्रहार गर्दै अष्ट्रेलियालाई फाइनलमा पुर्याए । उनले १७ बलमा ४ छक्का र २ चौकाको मद्धतमा ४१ रनमा अविजित रहे । मार्कस स्टोइनिस ३१ बलमा ४० रनमा अविजित रहे । यी दुई खेलाडीले ८१ रनको अविजित पारी खेले । यस्तै अष्ट्रेलियालाई गति दिलाउने क्रममा डेभिड वार्नरले ४९ रन बनाए । १७७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ६ बल बाँकी छदै ५ विकेटको क्षतिमा १७७ रन बनायो ।
पाकिस्तानका लागि सादाब खानले ४ ओभरमा २६ रन खर्चिदै ४ विकेट लिए भने शाहीन शाह अफ्रिदीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको पाकिस्तानले ४ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । उसका लागि मोहम्मद रिजवान ६७, फखर जमानले अविजित ५५ र कप्तान बाबर आजमले ३९ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले २ विकेट लिए भने प्याट कमिन्स र एडम जाम्पाले एक/एक विकेट लिए ।
अब उपाधिका लागि अष्ट्रेलिया र न्यूजील्याण्ड भिड्ने भएका छन् । दुवई टिम पहिलोपटक फाइनल प्रवेश गरेकाले यसपटक नयाँ विश्व विजेता पाउने निश्चित बनेको छ ।
























