Breaking News
चितवनमा सुरु भयो जनगणना

चितवन, कात्तिक २५–
चितवनमा बिहीबारदेखि राष्ट्रिय जनगणना–२०७८ सुरु भएको छ । मंसिर ९ गतेसम्म चल्ने दोस्रो चरणको जनगणना उल्लाहसपूर्ण रुपमा सुरु भएको छ ।
जनगणनामा चितवन जिल्लाभर ८६७ गणक खटिएका छन् । जनगणना अन्र्तगत पहिलो चरणमा भदौ ३० देखि असोज १८ गतेसम्म जिल्लाभर घर तथा घरपरिवार सूचीकरण गरिएको थियो । दोस्रो चरणको मूल गणनामा गणकले प्रत्येक घर परिवार मुलीसगै सोधपुछ गरी ८० वटा प्रश्नावली भर्ने छन् । जसमा पारिवारिक विवरण र व्यक्तिगत विवरण संकलन गरिनेछ ।
जिल्लाको जनसंख्याको परिवर्तन, लैंगिक अवस्था, वृद्ध, बालबालिका र युवा, घरको अवस्था, प्रयोग गरेको जग्गा, शिक्षा, प्रजनन् दर, अपाङ्गता, बसाईसराईं लगायतको वास्तविक यथार्थ संकलन गरिने जिल्ला जनगणना कार्यालय चितवनका जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो । ‘सबै ठाउँमा गणकहरु सक्रिय रुपमा सहभागि हुनुहुन्छ, सौहार्दपूर्ण वातावरणमा जनगणना सुरु भएको छ’–भण्डारीले भन्नुभयो ।
जनणनामा सहभागि गणकहरुले सूचना संकलनमा सहजता रहेका बताएका छन् । भरतपुर–१० मा खटिएकी स्वेता लामिछानेले जनगणना गर्न सहज भएको बताउनु भयो । ‘आज जति पनि जनगणना गरे निकै राम्रो रेस्पोन्स पाए, सबै जना उत्साहित हुनुहुन्छ, कसैले पनि झर्को मान्नु भएन’–लामिछानेले भन्नुभयो ।
लामिछाने जस्तै जिल्लामा ८६७ जना गणक सक्रिय छन् । नारायणगढ क्षेत्रमा खटिएका निशान न्यूरेले पनि स्थानीयहरुबाट राम्रो प्रतिक्रिया पाएको बताउनुभयो । ‘धेरैजसोले राम्रै प्रतिक्रिया दिनु भयो, सहज पनि भयो, केही ठाउँमा मात्रै अलि बुझाउन अफ्ठेरो प¥यो’–न्यूरेले भन्नुभयो ।
जनगणनामा सहभागि स्थानीयहरुले पनि आवश्यक प्रश्नहरु सोधिने भएकाले धेरै सहज र राम्रो भएको प्रतिक्रिया दिएका छन् । नारायणगढका गौरब बस्नेतले गणकहरुले सोधेको प्रश्नमा सजिलै जवाफ दिएको बताउनुभयो । ‘घर परिवारको अवस्थालगायत सबैजसो जानकारी दिनु पर्दो रहेट, हामीलाई आवश्यक कुराहरु पनि सोध्नुभयो, यो राम्रो काम हो’–बस्नेतले भन्नुभयो ।
चितवनमा २१० जना सुपरिवेक्षक खटिएका छन । एउटा सुपरिवेक्षकको नेतृत्वमा ४ जना गणक हुन्छन् । एक गणकले २५० घरपरिवारको गणना गर्नुपर्नेछ । जिल्लामा खटिएका गणक मध्ये ५० प्रतिशत महिला छन् । भरतपुर महानगरपालिकामा ४४१, माडी नगरपालिकामा ५१, कालिका नगरपालिकामा ६१, इच्छाकामना गाँउपालिकामा ३५, राप्ती नगरपालिकामा ६९, रत्ननगर नगरपालिकामा १२२ र खैरहनी नगरपालिकामा ७८ जना गणक खटिएका छन् । विसं २०६८ को जनगणनाअनुसार चितवनको जनसंख्या पाँच लाख ७९ हजार ९८४ रहेको छ ।
























