क्रिकेट

एक खेल अगावै भारत टि–२० विश्वकपको समूह चरणबाटै बाहिरियो

Banner

काठमाडौँ, कात्तिक २१–

प्रमुख दाबेदार मानिएको भारत टि–२० विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । युएईमा जारी प्रतियोगितामा एक खेल अगावै भारत प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रतियोगितामा भारत अन्तिम खेलमा नामिबियासंग खेल्न बाँकी छ । यी दुई बीचको खेल सोमबार हुँदैछ । यस खेलले दुवै टिमको लागि सान्त्वना खेलको रुपमा रहने छ । यस खेलमा भारत विजयी भएमा ६ अंकका साथ तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुङग्याउने छ । ५ खेलमा २ जित र ३ हारसंगै ४ अंकका साथ अफगानिस्तान समूहको चौथो स्थानमा रहेर प्रतियोगिता टुङग्याएको छ ।

समूह ‘बी’ रहेका भारतसंगै नामिबिया र स्कटल्याण्ड यसअघि नै बाहिरी सकेको थियो । झिनो आशा रहेको अफगानिस्तान भने न्यूजील्याण्डसंग आइतबार पराजित भएसंगै प्रतियोगिताबाट बाहिरिएको छ । भारतलाई सेमीफाइनल पुग्न अफगानिस्तानको खेलमा भर पर्नु परेको थियो । अफगानिस्तानले न्यूजील्याण्डलाई हराएको खण्डमा मात्रै भारत सेमीफाइनल पुग्ने संभावना रहेको थियो । तर अन्तिम खेलमा अफगानिस्तान ८ विकेटले न्यूजील्याण्डसंग पराजित भएपछि भारतको झिनो संभावना पनि समाप्त भयो ।

४ खेल खेलेको भारत २ मा हार र २ मा जित निकाल्दै ४ अंकका साथ चौथो स्थानमा रहेको छ । जारी विश्वकपमा भारत सुरुवाती दुई खेलमा पाकिस्तान र न्यूजील्याण्डसंग फराकिलो अन्तरले पराजित भएपछि भारतको सेमीफाइनल पुग्ने संभावना लगभग अन्त्य भएको थियो । पहिलो खेलमा पाकिस्तानसंग १० विकेट र दोस्रो खेलमा न्यूजील्याण्डसंग ८ विकेटले भारत पराजित भएको थियो । तर तेस्रो र चौथो खेलमा स्कटल्याण्ड र अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गर्दै भारतले नेटरनरेट सुधार गर्दै झिनो आशा जगाएको थियो ।

सन् २००७ सालदेखि सुरु भएको टि–२० विश्वकपमा भारत एक पटक मात्रै विजेता भएको छ । पहिलो विश्वकपमा पाकिस्तानलाई पराजित गर्दै भारतले विश्वकपको उपाधि जित्दै इतिहास रचेको थियो । सन् २००९, २०१०, २०१२ मा भएको विश्वकपमा भारत सुपर ८ बाटै बाहिरिएको थियो । २०१४ मा भएको विश्वकपमा दोस्रो भएको थियो भने २०१६ को विश्वकपमा सेमीफाइनलसम्म पुगेको थियो । यसपटक फेरि सुपर १२ बाटै भारत बाहिरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>