Breaking News
टि–२० विश्वकपः इङल्याण्ड र अष्ट्रेलिया सेमीफाइनलमा प्रवेश

काठमाडौँ, कात्तिक २०–
युएईमा जारी टि–२० विश्वकप अन्तरगत समूह ‘ए’ बाट इङल्याण्ड र अष्ट्रेलिया सेमीफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार समूहको सबै खेल सकिदा इङल्याण्ड शीर्ष स्थानमा रहँदै सेमीफाइनलमा स्थान बनाएको हो भने अष्ट्रेलिया दोस्रो स्थानमा रहँदै सेमीफाइनल प्रवेश गरेको हो । अष्ट्रेलियासंग समान अंक भए पनि दक्षिण अफ्रिका नेटरनरेटको आधारमा पछिपर्दै विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । शनिबार राति भएको खेलमा इङल्याण्डलाई १० रनले पराजित गरे पनि अफ्रिका सेमीफाइनल प्रवेश गर्न सकेन । शनिबार नै भएको पहिलो खेलमा अष्ट्रेलियाले वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गर्दै रनरेट सुधार गरेको थियो ।
५ खेलमा ४ जित र एक हार व्यहोरेको इङल्याण्डका ८ अंक रहेको छ भने नेटरनरेट २.४६४ रहेको छ । अष्ट्रेलियाको ५ खेलमा ४ जित र एक हारसंगै ८ अंक रहेको छ भने नेटरनरेट १.२१६ रहेको छ । यस्तै दक्षिण अफ्रिकाको ५ खेलमा ४ जित र एक हारसंगै ८ अंक रहेको छ भने नेटरनरेट ०.७३९ रहेको छ । तीन वटै टिमको समान ८ अंक भए पनि नेटरनरेटको आधारमा इङल्याण्ड र अष्ट्रेलिया सेमीफाइनलमा प्रवेश गरेको हो ।
यस समूहमा रहेको श्रीलंका ५ खेलमा २ जित र ३ हारसंगै ४ अंकका साथ चौथो स्थानमा रह्यो भने ५ खेलमा १ जित र ४ हार व्यहोर्दै २ अंकका साथ वेष्ट इण्डिजन पाँचौँ र सबै खेलमा पराजित भएको बंगलादेश पुछारमा रह्यो ।
प्रतियोगिता अन्तरगत समूह ‘बी’ बाट सेमीफाइनल पुग्ने टोलीको टुंगो लाग्न भने बाँकी छ ।
























