क्रिकेट

टि–२० विश्वकपः अष्ट्रेलियाले वेष्टइण्डिजलाई ८ विकेटले हरायो

Banner

काठमाडौँ, कात्तिक २०–

डेभिड वार्नरको अविजित अर्धशतकीय पारीले अष्ट्रेलियाले युएईमा जारी टि–२० विश्वकपमा साविक विजेता वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गरेको छ । आबुधाबीमा शनिबार साँझ सुपर १२ को समूह ‘ए’ को अन्तिम खेलमा अष्ट्रेलियाले शानदार जित हात पारेको हो ।

वेष्ट इण्डिजले दिएको १५८ रनको लक्ष्य अष्ट्रेलियाले १६.२ ओभरमा मात्र २ विकेट गुमाउँदै १६१ रन बनाउँदै जित हात पारेको हो । अष्ट्रेलियाको जितमा ओपनर वार्नरले अविजित ८९ रन बनाए । ५६ बल खेलेका वार्नरले ९ चौका र ४ छक्का प्रहार गरे । मिचेल मार्श ५३ रनमा क्रिस गेलको बलमा क्याच आउट हुन पुगे । ३२ बल खेलेका मार्शले ५ चौका र २ छक्का प्रहार गरे । कप्तान आरोन फिन्च ९ रनमा अकेल होसेनबाट बोल्ड आउट हुन पुगे ।

यसअघि पहिले व्याटिङ गरेको वेष्ट इण्डिजले ७ विकेटको क्षतिमा १५७ रन जोडेको थियो । उसका लागि कप्तान किरोन पोलार्डले ४४ रन बनाए भने इभिन लुईसले २९, शिमरोन हेटमायरले २७, आन्द्रे रसेलले अविजित ७ बलमा १८ रन बनाए भने क्रिस गेलले १५ रन जोडे । अन्तर्राष्टिय क्रिकेटबाट सन्यास लिँदै अन्तिम खेल खेलेका ड्वेन ब्राभोले १० रन बनाए ।

अष्ट्रेलियाका लागि जोश हेजलवुडले ४ विकेट लिए भने एडम जाम्पा, मिचेल स्टार्क र प्याट कमिन्सले समान एक/एक विकेट लिए ।

जितसंगै अष्ट्रेलिया सेमीफाइनल प्रवेश गर्ने संभावना बलियो बनाएको छ । ५ खेलमा ४ जित र एक हारसहित ८ अंकका साथ अष्ट्रेलिया समूह ‘ए’को दोस्रो स्थानमा रहेको छ । अन्तिम खेलमा वेष्ट इण्डिजलाई फराकिलो अन्तरले पराजित गरेसंगै अष्ट्रेलियाले रनरेटमा समेत सुधार गरेको छ । ४ खेलमा ४ जित निकाल्दै उत्कृष्ट नेटरनरेटका साथ इङल्याण्ड शीर्ष स्थानमा छ ।

४ खेलमा ३ जित र एक हारसहित दक्षिण अफ्रिका ६ अंकका साथ तेस्रो स्थानमा छ । आज हुने इङल्याण्डविरुद्धको खेलमा फराकिलो अन्तरले जित निकाल्न सके दक्षिण अफ्रिकाको समेत सेमीफाइनल पुग्ने संभावना बलियो बन्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>