Breaking News

नेपाल संवत्ः ११४२को स्वागत, म्हः (आत्म) पूजा गरियो

Banner

काठमाडौँ, कात्तिक १९–

प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिनदेखि शुरु हुने नेपाल संवत् का नयाँ वर्षलाई स्वागत गरिएको छ । आजदेखि नेपाल संवत् ११४२ शुरु भएको छ ।

नेपाल संवत्को नयाँ वर्ष शुरु भएको खुसीयालीमा आज राजधानीका विभिन्न स्थानमा र्‍याली एवम् सभाको आयोजना गरियो । नयाँ वर्षको स्वागत गर्न विशेषगरी नेवार समुदाय मौलिक भेषभुषामा सजिएर निस्किएका थिए । यस अवसरमा उपत्यकाका विभिन्न स्थानका साथै नेवार समुदायका बसोवार भएका शहरमा पनि मोटरसाइकल ¥याली गरिएको छ ।

यस संवत्लाई हाल विशेषगरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०)मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनुभएको थियो । यसै आधारमा नेपाल संवत् मनाउन थालिएको विश्वास गरिन्छ । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धर बताउनुुहुन्छ ।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत्् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो । लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो । नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत्् भएको उहाँले सुनाउनुभयो ।

विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज नयाँ बही खाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौँमा अहिले पनि छ ।

म्ह ः (आत्म) पूजा गरियो
नेपाल संवत्को नयाँ वर्षलाई स्वागत गरेपछि आजै नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिएको छ। कात्तिक शुक्ल प्रतिपदाका दिन आज बेलुकी नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ । आत्मा नै सबैभन्दा महत्वपूर्ण हो भन्ने वैदिक मान्यतामा आधारित यो पर्व सबैले मनाउनुपर्ने भएपनि पछिल्लो समय नेवार समुदायले निरन्तरता दिएको उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>