चितवन विशेष

प्रेस चौतारी चितवनद्वारा द्वारिका नेपाल स्मृति पुरस्कारको घोषणा

Banner

चितवन, कात्तिक १४-

प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले स्वर्गीय पत्रकार द्वारिका नेपालको स्मृतिमा पुरस्कार स्थापना गरेको छ ।

प्रेस चौतारी चितवनको बसेको सचिवालय बैठकले गत असोज ३१ गते मष्तिकघात भई निधन भएका प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य नेपालको स्मृतिलाई चीरस्थायी बनाउन संस्थागत रुपमा ‘स्व द्वारिका नेपाल स्मृति पुरस्कार’ स्थापना गरेको हो ।
चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले पत्रकारिता, साहित्य र शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकार तथा योगदान दिने व्यक्तिहरुलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिने जानकारी दिए । पुरस्कारको राशी हाललाई ११ हजार १११ राखिएको छ । अध्यक्ष पण्डितका अनुसार यसलाई पछि कार्यविधि बनाएर बढाउँदै लैजाने योजना छ । बैठकले द्वारिका नेपालको निधनमा शोक प्रस्तावसमेत पारित गरेको छ ।

चितवनको चिनारी गराउन चौतारी बुलेटिन प्रकाशन गरिने प्रेस चौतारी चितवनको बैठकले आगामी मंसिर १०, ११ र १२ गते नेकपा (एमाले) चितवनका हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी चौतारी बुलेटिन प्रकाशन गर्ने निर्णय गरेको छ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट आउने प्रतिनिधिलाई चितवनको शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, विकास, आदिवासी जनजातिको अवस्था, विभिन्न राजनीतिक महत्वपूर्ण घटनाक्रम, चितवनको पत्रकारिता लगायतका विषय जानकारी गराउने उद्देश्यले ‘चौतारी बुलेटिन’ प्रकाशन गर्न लागिएको हो । बुलेटिन प्रकाशनका लागि पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष एवम् प्रेस चौतारी चितवनका पूर्वअध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा महासंघका पूर्वअध्यक्ष एवम् प्रेस चौतारी चितवनका पूर्वअध्यक्ष राधेश्याम खतिवडा, महासंघ पूर्वसचिव नारायणप्रसाद सापकोटा तथा बागमती प्रदेश कमिटी सदस्य प्रतिमा सिलवाल रहेको सम्पादक मण्डल चयन गरिएको छ । बजार व्यवस्थापन हेर्न सचिवालय सदस्य मुकुन्द भुषालको संयोजकत्वमा हेमराज रिमाल, विकास पौडेल र विनय आचार्य रहेको चार सदस्यीय समिति गठन गरिएको छ । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले देशभरबाट आउने प्रतिनिधिहरुलाई चितवनको खासखास स्ट्रेन्थ के के हुन भन्ने बारेमा जानकारी गराउन बुलेटिन प्रभावकारी हुने बताए ।
यहाँका हरेक क्षेत्रका विषयहरु देशभरबाट आउने प्रतिनिधिहरूका बीचमा एकैपटक पुग्ने विश्वास संगठन लिएको उनको भनाइ छ । चौतारीले महाधिवेशन अगाडि तयारी सम्बन्धी गतिविधिमा पत्रकारहरुलाई सूचनाको पहुँच सहज होस् भनेर प्रदेश कमिटी सदस्य तिलकराम रिमाल र सचिवालय सदस्य आनन्द पोखरेललाई समन्वय गर्ने जिम्मेवारी तोकेको छ । चौतारी चितवनको आधिकारिक इमेलमार्फत यस्ता जानकारी र सूचनाहरु देशभरका पत्रकारहरुका माझमा लगिने संगठनका अध्यक्ष पण्डितले बताए । प्रेस चौतारी बागमती प्रदेश कमिटीका सहसंयोजक शिशिर सिम्खडाको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रेस चौतारीका अग्रज एवम् सल्लाहाकारहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>