क्रिकेट
टि–२० विश्वकपः इंग्ल्यान्डको लगातार तेस्रो जित

काठमाडौँ, कात्तिक १४–
युएईमा जारी टि–२० विश्वकपमा उपाधिको दाबेदार इंग्ल्यान्डले लगातार तेस्रो जित हात पारेको छ । शनिबार राति सम्पन्न खेलमा बलिया प्रतिद्धन्द्धी अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि दाबेदारी प्रस्तुत गरेको हो । यो जितसंगै इंग्ल्यान्ड २ खेल बाँकी छदै सेमीफाइनल नजिक पुगेछ ।
अष्ट्रेलियाले दिएको १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ११.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर जस बटलर अविजित ७१ रन बनाए । ३२ बल सामना गरेका उनले ५ चौका र ५ छक्का प्रहार गरे। अर्का ओपनर जेसन रोयले २२ रनमा आउट भए । उनले २० बलमा १ चौका र १ छक्का प्रहार गर्दै एडम जाम्पाको बलमा एलबीडब्लू आउट भए ।
डेविड मलान ८ रनमा आउट भए भने जोनी बेयरस्टो १६ रनमा अविजित रहे । उनले ११ बलमा २ छक्का प्रहार गरे । इंग्ल्यान्डलाई जित दिलाउन ओपनर रोय र बटलरले पहिलो विकेटका लागि ६.२ ओभरमा ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अष्ट्रेलियाका लागि स्पिनर एडम जाम्पा र एश्टन अगरले १–१ विकेट लिए ।
यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १ सय २५ रनमा अल आउट भयो । अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले ४९ बलमा ४ चौका सहित सर्वाधिक ४४ रनको योगदान दिए ।
इंग्ल्यान्डका क्रिस वोक्सले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । टाइमल मिल्सले २, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।
जितसंगै इंग्ल्यान्ड सुपर १२ को समूह १ को शीर्ष स्थानमा कायमै छ । तीन खेलमा शतप्रतिशत जित निकालेको इंग्ल्यान्डको ६ अंक रहेको छ । समान ३ खेलमा ४ अंक बटुलेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।
























