देश/प्रदेश

जिल्लामा निः शुल्क रगत उपलब्ध हुँदा बिरामीलाई सहज

Banner

नवलपरासी, कात्तिक १२-
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले जिल्लाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको छ । निःशुल्क रगत पाएपछि बिरामीलाई सहज भएको छ ।

रेडक्रस र जिल्लाका सातैवटै स्थानीय तहबीच आफ्नो पालिकाभित्रका बिरामीलाई निः शुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । सोही सम्झौता अनुरुप रगत उपलब्ध गराउन थालिएको शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले जानकारी दिनुभयो । जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । “नागरिकता र अस्पतालको सिफारिसका आधारमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएका छौँ, त्यसवापतको रकम सम्बन्धित स्थानीय तहले रेडक्रसलाई भुक्तानी गर्छन्”, उहाँले भन्नुभयो ।

जिल्लामा रेडक्रसले सञ्चालन गरिरहेका रक्तसञ्चार केन्द्रमा १०० प्रिन्टसम्म रगत जम्मा गर्ने क्षमता छ । जिल्लामै सबै रगत भने खपत हुँदैन् । जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा बुटवल, भैरहवा र भरतपुरका अस्पतालमा रगत पठाउने गरिएकामा पछिल्लो समय जिल्लाकै अस्पतालमा रगतको खपत बढ्दै गएको अग्रहरीले बताउनुभयो ।

स्थानीय तह र रेडक्रसको समन्वयमा निःशुल्क रगत उपलब्ध हुन थालेपछि बिरामीको उपचारमा थप सहज भएको रामग्राम–४ का अर्जुनबहादुर क्षेत्रीले बताउनुभयो । “पहिला हामी आफैँले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था थियो, अहिले नगरपालिकाले रकम भुक्तानी गर्न थालेपछि सहज रुपमा रगत पाउन थालेका छौँ”, उहाँले भन्नुभयो ।

रेडक्रसले रक्तदानको महत्व बुझाउन गाउँगाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । वडा वडामा सचेतना गोष्ठी सञ्चालन गर्ने तयारी रहेको अग्रहरीले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>