Breaking News

२०१८ देखि जनगणना नभएको लिम्पियाधुरामा भूउपग्रहबाट भए पनि जनगणना गर्छौ: निर्देशक लामिछाने

Banner

हेटौंडा, कात्तिक १०-

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा क्षेत्रमा यसपटक जसरी पनि जनगणना गर्ने केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताएका छन् ।

यही कात्तिक २५ गतेबाट सुरु हुने १२ औं जनगणनाको बारेमा पत्रकारहरुलाई जानकारी दिनको लागि हेटौंडामा आयोजित मिडिया सचेतना कार्यशालामा निर्देशक लामिछानेले सो बताएका हुन् । उनले विसं २०१८ सालदेखि जनगणना नभएको सो क्षेत्रमा यसपटक जनगणना गर्न भारतसँग कूटनीतिक पहल भइरहेको जानकारी दिए । उनले भने, ‘ लिम्पियाधुरा भारतले दाबी गरेको विवादित भूमि हो । जनगणनाको लागि परराष्ट्र मन्त्रालयमार्फत् कूटनीतिक पहल भइरहेको छ । भारतले सुरक्षा निकायले सो क्षेत्रमा जान पनि दिँदैनन् । जनगणनाको लागि लडाइ गर्ने र द्वन्द्व बढाउने कुरा भएन । मानिस जान नसके जनगणनाको अर्काे विधि भूउपग्रह प्रयोग गरेर भए पनि गणना गर्न सकिन्छ ।’ उनले विवादास्पद क्षेत्रमा कतिपय देशले भूउपग्रह तस्विरको प्रयोग गरी जनगणना गर्ने गरेको सन्दर्भ पनि उल्लेख गरे । उनले विसं २०१८ सालपछि सो क्षेत्रको कुनै पनि तथ्यांक नभेटिने पनि बताए । उनले जनगणना प्रक्रियाबारे पत्रकारहरुलाई अवगत गराएका थिए ।

त्यसैगरी केन्द्रीय तथ्यांक विभागको सहकार्यमा मिडिया एक्सनले आयोजना गरेको कार्यशालामा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले राष्ट्रिय जनगणनालाई सफल बनाउन मिडियाले खेल्न सक्ने भूमिकाको बारेमा सहजीकरण गरेका थिए । तथ्यांकलाई विश्लेषण गर्दै समाचार लेख्न सके समाचार बढी विश्वशनीय हुने उनले बताए ।

त्यसैगरी कार्यशालामा मिडिया र लैगिंक विज्ञ डा समीक्षा कोइरालाले नेपालको पत्रकारिता क्षेत्रमा दुश्प्रचार र भ्रामक सूचनाको पहिचान कसरी गर्ने र रोक्न अपनाइने तरिकाबारे जानकारी गराएकी थिइन् । उनले समाचार संकलन र लेखनमा लैगिंक संवेदनशिलताबारे जानकारी दिँदै समाचार संकलनमा कति जना महिला विज्ञहरुसँग कुराकानी गरियो विचार गनुपर्ने बताइन् । मकवानपुर र चितवनका गरेर २३ जना पत्रकारहरु सहभागी सो कार्यशालामा केन्द्रीय तथ्यांक विभागका तथ्यांक अधिकृत निराजन शर्माले नेपालको राष्ट्रिय तथ्यांक प्रणालीबारे पत्रकारहरुलाई जानकारी गराएका थिए । उनले गुणस्तरीय तथ्यांका मापदण्डहरु र तथ्यांक संकलनमा नेपालको संवैधानिक प्रावधानहरुबारे प्रशिक्षण दिएका थिए । उनले यसपटकको जनगणनामा नागरिकहरुको बैँक खाता भए नभएकोदेखि महिलाको सम्पत्तिमा पहुँच जस्ता विषय पनि समावेश गरिएको जानकारी गराए ।

मिडिया एक्सनका वाग्मती प्रदेश संयोजक मधुसूदन दवाडीले संयोजन गरेको कार्यशालाको उद्घाटनमा प्रदेश जनगणना अधिकारी राजेश दास र पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमले पनि मन्तव्य राखेका थिए । देशका सबै प्रदेशमा मिडिया सचेतना कार्यक्रम गर्दै आएको मिडिया एक्सन नेपालको को सो कार्यशाला छैटौं थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>