क्रिकेट
टि–२० विश्वकपः मुजीब र राशिद खानको घातक बलिङमा अफगानिस्तानको फराकिलो जित

काठमाडौँ, कात्तिक ९–
युवा बलरद्धय मुजीब उर रहमान र राशिद खानको घातक बलिङले युएईमा जारी टि–२० विश्वकपमा अफगानिस्तानले शानदार विजयी सुरुवात गरेको छ ।
सुपर १२ को समूह ‘बी’ अन्तरगत सोमबार राति शारजाहमा भएको खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको फराकिलो जित हात पार्यो । १९१ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्याण्ड १०.२ ओभरमा ६० रनमै अलआउट हुन पुग्यो । अफगानिस्तानका बलर मुजीब र राशिदको घातक बलिङसामु स्कटल्याण्डका कुनै पनि व्याटर खुलेर खेल्न सकेनन् ।
ओपनर जर्ज मुन्सेले १८ बलमा २५ रन र कप्तान केली कोइटजरले ७ बलमा १० रन बनाए । यी दुवैलाई मुजीबले नै पेभिलियन फर्काए । क्रिस ग्रीभ्सले १२ रन बनाए भने तीन ज्यान व्याटरले दोहोरो अंक छुन सेकनन् । स्कटल्याण्डका ५ जना व्याटर शून्यमै आउट भएका थिए ।
अफगानिस्तानका लागि मुजीब उर रहमानले आफ्नो पहिलो ओभरमै ३ विकेट लिएपछि स्कटल्याण्डको पारी धरापमा परेको थियो । मुजीबले ४ ओभरमा २० रन खर्चिदै ५ विकेट लिन सफल भए । यस्तै राशिद खानले २.२ ओभरमा ९ रन खर्चिदै ४ विकेट लिन सफल भए । मुजीबले ५ विकेट लिएर आफ्नो ओभर सकाएसंगै स्कटल्याण्डको बाँकी विकेट राशीदले चट्काएका थिए ।
खेलमा मुजीब प्लेयर अफ दि म्याच घोषित भए । जितसंगै अफगानिस्तान आफ्नो समूहको शीर्षस्थानमा रहेको छ । उत्कृष्ट नेटरनरेटको आधारमा अफगानिस्ताले पाकिस्तानलाई पछाडी पार्दै शीर्षस्थानमा छ ।
























