Breaking News
भारतविरुद्ध टि–२० विश्वकपमा पाकिस्तानको ऐतिहासिक जित, भारत १० विकेटले पराजित

काठमाडौँ, कात्तिक ७–
युएईमा जारी टि–२० विश्वकपमा भारतविरुद्ध पाकिस्तानले ऐतिहासिक जित हात पारेको छ । दुबईमा आइतबार भएको खेलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले विश्वकपमा शानदार सुरुवात गरेको हो । यो जितसंगै पाकिस्तानले टि–२० विश्वकपमा पहिलोपटक हराउन सफल भएको छ । यसअघिका विश्वकपहरुमा लगातार भारत जित हात पार्दै आएको थियो ।
भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा बिना विकेट पुरा गरेको हो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले अविजित ६८ रन बनाए भने मोहम्मद रिजवानले अविजित ७८ रन बनाए । कप्तान आजमले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गरे । यस्तै रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

भारतका वरुण चक्रवर्तीले ४ ओभरमा ३३ रन खर्चिए भने रविन्द्र जडेजाले ४ ओभरमा २८ रन खर्चिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १५१ रन बनाएको थियो । उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए । ४९ बल खेलेका कोहलीले ५ चौका र एक छक्का प्रहार गरे । ऋषभ पन्तले ३० बलमा ३९ रन बनाए । उनले २ छक्का र २ चौका प्रहार गरे । रविन्द्र जडेजाले १३, हार्दिक पाण्डेयले ११, सुर्यकुमार यादवले ११, भुवनेश्वर कुमारले ५, केएल राहुलले २ रन बनाए भने रोहित शर्मा शून्यमा आउट भए ।
भारतको व्याटिङ सुरुवात राम्रो रहेन । १ रनको अवस्थामा भारतले पहिलो विकेटको रुपमा रोहित शर्मालाई गुमायो । ६ रनको अवस्थामा अर्का ओपनर केएल राहुल पनि आउट भएपछि भारत थप दबाबमा पर्यो । ३१ रनको अवस्थामा भारतले ३ विकेट गुमायो भने ८४ रनमा ४ विकेट गुमाएको थियो ।
पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले महत्वपूर्ण ३ विकेट लिए । उनले दुवै ओपनर रोहित, केएल र कप्तान विराटको विकेट लिएका थिए । उनी म्यान अफ दि म्याच चुनिए । यस्तै हसन अलीले २, सादाब खान र हरिस रौफले समान एक/एक विकेट लिए ।
जितसंगै पाकिस्तान सुपर १२ को समूह ‘बी’ को शीर्षस्थानमा रहेको छ ।

























