क्रिकेट
टि–२० विश्वकपः श्रीलंकाले बंगलादेशलाई हरायो

काठमाडौँ, कात्तिक ७–
युएईमा जारी टि–२० विश्वकप अन्तरगत श्रीलंकाले बंगलादेशलाई पराजित गरेको छ । समूह ‘ए’ मा रहेको श्रीलंकाले आज भएको खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै सुपर १२ मा विजयी सुरुवात गरेको छ ।
बंगलादेशले दिएको १७२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ७ बल बाँकी छदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । उसका लागि चरिथ असलंकाले अविजित ४९ बलमा ८० रन बनाए । भानुका राजापाक्षेले ३१ बलमा ५३ रनको अर्धशतकीय पारी खेले भने पथुम निस्काले २४ रन बनाए । बंगलादेशका लागि नसुम अहमद र साकिब अल हसनले समान २/२ विकेट लिए भने मोहम्मद सैफुद्दीनले एक विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको बंगलादेशले ४ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । उसका लागि मोहम्मद नइमले ६२ रन बनाए भने मुशफिकुर रहिमले ५७ रन बनाए । श्रीलंकाका लागि चमिका करुणारत्ने, बिनुरा फर्नान्डो र लाहिरु कुमारले समान एक/एक विकेट लिए ।
























