चितवन विशेष

चितवनमा दिंवगत पत्रकारका परिवारलाई ५० हजार दिने महासंघको निर्णय

Banner

चितवन, कात्तिक ६-

नेपाल पत्रकार महासंघ चितवनले दिवंगत हुने महासंघ चितवनका सदस्यका परिवारलाई आर्थिक सहयोगस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

आज बसेको कार्यसमिति बैठकले पत्रकार महासंघ सदस्यको निधन भएमा परिवारलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले महासंघ सदस्यको दिवंगत भएमा ५० हजार रुपैयाँ सहयोग गरिने बताए । ‘पत्रकारको दुःखमा महासंघले सक्दो सहयोग गर्ने नीति लिएको छ’, उनले भने, ‘पत्रकारको उपचार र विपद्मा समेत सहायता गर्न कल्याणकारी कोष वृद्धि गरिनेछ ।’ उनका अनुसार कार्यविधि बनाएर पत्रकारको उपचार, विपदमा न्यूनतम आर्थिक सहयोग वितरण गर्न कोष रकम बढाउने तयारी भएको छ । जिल्ला शाखाले पहिलोपटक दिंवगत हुने पत्रकारलाई सहयोग गर्ने निर्णय गरेको हो । चितवन शाखाले महासंघ सदस्यहरुको सात लाख बराबरको दुर्घटना बिमा समेत गरिसकेको छ । बिमा सुविधा लिन नसक्ने अवस्थामा तत्कालै आर्थिक सहायता गरिने उनले बताए ।

गत असोज ३१ गते दिवंगत भएका कालिका एफएमा कार्यरत ४७ वर्षीय पत्रकार द्वारिका नेपालको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहायता गरिने पत्रकार महासंघ चितवनले जनाएको छ । दसैँको टीका लगाउन रौतहटको चन्द्रनिगाहापुर घर जाने क्रममा असोज २५ गते बाटोमा बेहोस बनेपछि उनलाई उपचार गर्न हेलिकप्टर मार्फत् काठमाडौँको ग्रयाण्डी अस्पताल लगिएको थियो । उनको मष्तिष्कघातका कारण निधन भएको थियो । चितवन शाखाले द्वारिका नेपालको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको छ । स्वर्गीय नेपाल चितवनको पत्रकारिता, साहित्य र प्राध्यापन क्षेत्रमा सक्रिय रहँदै आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>