Breaking News

चितवनमा कृषि विकास बैँकको शाखा प्रमुखसहित तीन निलम्बित,२४ प्रतिशतसम्म व्याज लिएको आरोप

Banner

चितवन, कात्तिक ३-

आर्थिक हिनामिना गरेको आरोपमा भरतपुरस्थित कृषि विकास बैंकको गुञ्जनगर शाखा प्रमुखसहित तीन जना निलम्बनमा परेका छन् ।

शाखा प्रमुख शोभाकुमारी दत्तसहित बैंकको ऋण शाखाका टिकेन्द्र भट्टराई र ग्राहक सेवा कक्षकी भगवती सापकोटालाई निलम्बन गरिएको हो ।

शाखा प्रमुख दत्तको निर्देशनमा उनीहरुले आफ्नो खातामा भएको रकम ग्राहकलाई सापटी दिएको कृषि विकास बैँक स्रोतले बताएको छ । उनीहरुले गैरकानुनीरुपमा तोकिए भन्दा धेरै ब्याजदर लिनेगरी ग्राहकलाई दिएको पाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । कर्मचारीले ग्राहकबाट २४ प्रतिशतसम्म ब्याज लिने गरेको बैँकका सेवाग्राहीको आरोप छ । सापटी पैसा उपलब्ध गराउँदा पनि शाखा प्रमुखले ग्राहकसँग पुनः कमिसन लिने गरेको आरोप लागेको छ ।

कृषि विकास बैँकका केन्द्रीय सूचना अधिकारी हिमलाल पौडेलले अहिले छानबिन भइरहेको र केही दिनमा यसको निष्कर्ष आउने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘शाखा प्रमुखसहित तीन कर्मचारीले गल्ती गरेको बैँकको लेखापरीक्षण गर्दा पुष्टि भएको हो । अहिले निलम्बन मात्र भएका हुन् । पछि उनीहरुमाथि के कारबाही हुन्छ । यथार्थ जानकारी छिट्टै बाहिर ल्याउने छौं ।’

कृषि विकास बैंकको केन्द्रीय कार्यालयबाट दुई जना र प्रदेश कार्यालयबाट एक जना गरी तीन जना कर्मचारीले छानविन गर्दै छन् । छानविन समितिले गुञ्जनगर शाखामा आएर आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ । शाखा प्रमुखको जिम्मेवारी बैंकको प्रदेश कार्यालयका कुमार उप्रेतीलाई दिइएको छ । शाखा प्रमुख दत्तले ग्राहकलाई सहुलियतको ऋण उपलब्ध गराए बापत ग्राहकसँग कमिसन लिएको र उनको खातामा अस्वभाविक रकम पनि देखिएको गुञ्जनगर शाखाका कर्मचारीहरुले नारायणी अनलाइनलाई जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>