Breaking News
टि–२० विश्वकपः स्कटल्याण्डसंग बंगलादेश स्तब्ध

काठमाडौँ, असोज ३१–
टी–२० विश्वकप क्रिकेटमा स्कटल्याण्डले ऐतिहासिक जित हात पारेको छ । आइतबार राति ओमानमा भएको दोस्रो खेलमा एशोसियट राष्ट्र स्कटल्याण्डले टेस्ट राष्ट्र बंगलादेशलाई ६ रनले पराजित गरेको हो ।
स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३४ रन मात्रै जोड्न सक्यो । बंगलादेशलाई जितका लागि अन्तिम ओभरमा २४ रन आवश्यक थियो । तर सफ्यान सरिफको बलिङमा बंगलादेशले १७ रन मात्रै जोड्न सक्यो । मेहदी हसनले ५ बलमा १३ रन बनाउँदै एक चौका र एक छक्का प्रहार गरे । बंगलादेशका लागि मुसाफिकर रहिमले सर्वाधिक ३८ रन बनाए भने कप्तान महमुदुल्लाहले २३ र शकिब अल हसनले २० रन बनाए ।
स्कटल्याण्डका लागि ब्राड ह्वीलले ३, क्रिस ग्रिभ्सले २ विकेट लिए । जोस डेभी र मार्क वाटले समान एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनाएको थियो । उसका लागि क्रिस ग्रिभ्सले ४५, जर्ज मुन्सेले २९ र मार्क वाटले २२ रन बनाए । बंगलादेशका लागि मेहदी हसनले ३, शकिब अलहसन र मुस्ताफिजुर रहमानले समान २÷२ विकेट लिए । खेलमा स्कटल्याण्डका क्रिस ग्रिभ्स म्यान अफ दि म्याच घोषित भए । आजको जितसंगै स्कटल्याण्ड समूह ‘बी’को दोस्रो स्थानमा रहेको छ । यसै समूह अन्तरगत आज भएको पहिलो खेलमा घरेलु टोली ओमानले पपुवा न्यूगिनीलाई १० विकेटले पराजित गर्दै शीर्ष स्थानमा छ । स्कटल्याण्ड र ओमानको समान २ अंक भए पनि नेटरनरेटको आधारमा ओमान शीर्ष स्थानमा छ । आजको हारसंगै सुपर १२ मा प्रवेशका लागि बंगलादेशलाई थप दवाब बढेको छ ।
विश्वकपको पहिलो चरणमा कुल ८ टिमले प्रतिस्पर्धा गर्नेछ । जसमध्ये ४ टिम सुपर १२ मा प्रवेश गर्नेछ । यो प्रतियोगिता २९ दिनसम्म चल्नेछ र, २८ कात्तिक (१४ नोभेम्बर)मा हुने फाइनलले वल्र्ड च्याम्पियन तय गर्नेछ ।
























