Breaking News
अझै नियन्त्रणमा आउन सकेन कृष्णनगरमा फैलिएको झाडापखाला

कपिलवस्तु, असोज ३१ –
दूषित पानी र सरसफाइको अभाव कारण कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।
उक्त क्षेत्रको पानीको नमूना परीक्षण गर्दा एउटा नमूनामा दिसामा पाइने इकोली नामक जिवाणु फेला परेको थियो । त्यस्तै गत शुक्रबार काठमाडौंको टेकुस्थित प्रयोगशालामा परीक्षण गर्न ल्याइएको नमूनाको विस्तृत रिपोर्ट भने अझै सार्वजनिक नगरिएको स्वास्थ्य कार्यालय र अस्पतालले जनाएको छ ।
त्यस्तै उक्त गाउँका बासिन्दाले ओभरहेड टंकीमार्फत वितरित धारा र ह्याण्डपम्पको पानी प्रयोग गर्ने गर्छन् । तर कुन धाराको पानी दूषित हो भन्ने पुस्टि अझै भएको छैन् ।
बहादुरगञ्जस्थित शिवराज अस्पतालमा उपचारका लागि झाडापखालाका बिरामीहरु आउने क्रम रोकिएको छैन । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट महेश चौधरीका अनुसार अहिले पनि दिनहुँ दुई दर्जन बढी झाडापखालाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।
त्यस्तै अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको संख्या ८७४ पुगेको र सिकिस्त बनेका ४१ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ भने उपचाररत बिरामीहरुको संख्या १९ रहेको अस्पतालको तथ्यांकमा छ ।
सुरुवातमा झाडापखालाका बिरामीहरुको संख्या ह्वात्तै बढेपछि शय्या अभावमा अस्पतालको आँगनमा राखेर बिरामीहरुको उपचार गर्नु परेको थियो ।
त्यस्तै हालसम्म कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडापखालााट तीन बालबालिकासहित चार जनाले ज्यान गुमाइका छन् ।























